लामखुट्टे बाट सर्ने खतरनाक रोग डेङ्गु थप ६ जनामा

By
Advertisement

काँकडभिट्टा (झापा), ७ मङ्सिर । झापाको काँकडभिट्टामा डेङ्गु रोग लागेको बिरामीको सङ्ख्या २६ पुगेको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा गरिबदास ठाकुरसहितका विशेषज्ञ टोलीले झापामा आएर एक महिनाभित्र रोग नियन्त्रणमा लिने बताइरहँदा बुधबार एकै दिन थप ६ जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ ।

झापाको काँकडभिट्टामा असोज ७ गते स्थानीय युवक विशाल गौतम यो रोगबाट सङ्क्रमित भएको पुष्टि भएयता यहाँ थप २५ जना यो रोगका बिरामी देखिएका छन् ।

काँकडभिट्टा क्षेत्रमा फैलिएको डेङ्गु नियन्त्रणका लागि राजधानीबाट आएको विशेषज्ञ टोलीले एक महिनाभित्र रोग नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बुधबार मेचीनगर नगरपालिका कार्यालयमा आयोजित सर्वपक्षीय भेलामा विशेषज्ञ टोलीले यस्तो प्रतिबद्धता जनाएको हो ।

“हामीले रोग प्रभावित क्षेत्रमा काम थालिसकेका छौँ”, डा ठाकुरले भन्नुभयो– “अबको एक महिनाभित्र कसैलाई पनि डेङ्गु ज्वरो लाग्न नदिने गरी काम गर्ने हाम्रो मुख्य लक्ष्य हुनेछ ।”

यसअघि चितवनमा फैलिएको डेङ्गु यही टोलीले नियन्त्रणमा लिएको दाबी गर्दै उहाँले यहाँ पनि छिट्टै सफलता मिल्ने आशा व्यक्त गर्नुभयो ।

काँकडभिट्टाको एकै ठाउँमा नयाँ नयाँ रोगी भेटिने क्रम नरोकिएपछि डा ठाकुर नेतृत्वको विशेषज्ञ टोली यहाँ आएको हो । टोलीमा डा युवराज पोखरेल, पर्शुराम श्रेष्ठ, चन्दन ठाकुर तथा जिल्ला जनस्वास्थ्यका अधिकारीहरु सहभागी छन् ।

विशेषज्ञ चिकित्सकहरुको समूहले बुधबार नगरका राजनीतिक दल र सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीसँग रोग नियन्त्रणका लागि समुदायको सहयोगको अपेक्षा गरेको छ ।

मेचीनगर नगरपालिका तथा समुदायसँग मिलेर टोलीले रोग प्रभावित क्षेत्रमा काम गर्ने डा ठाकुरले बताउनुभयो ।

रोग प्रभावित क्षेत्रमा लामखुट्टे मार्न मेचीनगर नगरपालिकाले अहिले काँकडभिट्टा, धुलाबारी र इँटाभट्टा क्षेत्रमा फगिङ गरिरहेको छ ।

यसैबीच छिमेकी जिल्ला झापामा डेङ्गु रोगी देखिए पनि मोरङमा यसको कुनै प्रभाव नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

खासगरी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग सुरुमै हड्डी दुख्ने गरी ज्वरो आउने भएकाले रोगको लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य केन्द्रमा जाँच गराउन वरिष्ठ जनस्वास्थ्य अधिकृत नवराज सुब्बाले सुझाव दिनुभएको छ । अहिलेसम्म डेङ्गुको कुनै रोगी नभेटिए पनि यसका लागि सतर्कता अपनाइआएको उहाँको भनाइ छ । रासस

0 comments:

Post a Comment