
भक्तपुर, ७ मङ्सिर । गत वर्षभन्दा यो वर्ष भक्तपुर अवलोकनका लागि आउने विदेशी पर्यटकको सङ्ख्या दोब्बर बढे पनि व्यापारमा वृद्धि हुन सकेको छैन ।
अवलोकनका लागि आउने प्रायः पर्यटक विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरी त्यसै फर्किने गर्नाले पर्यटकीय सामान व्यापार गर्न नसकेका कारण व्यवसायी चिन्तित भएका छन् ।
भक्तपुर टौमढीमा धातुको मूर्ति र पस्मिना व्यापार गर्दै आएकी समा श्रेष्ठले टौमढी अवलोकन गर्न दैनिक हजारौँ पर्यटक आए पनि व्यापारमा कुनै वृद्धि नभएको बताइन् । उनले भनिन्–गत वर्षमा भक्तपुर आउने पर्यटक कम भए पनि दैनिक रु १० देखि १५ हजारसम्मको व्यापार गरिएको थियो तर यसपालि पर्यटकको सङ्ख्यामा धेरै वृद्धि हुँदा दैनिक रु दुई हजारदेखि तीन हजारसम्म मात्र व्यापार भएको छ ।
चाँगुनारायणमा काष्ठकलाको सामग्री र हाते बुनाइ सामान बेच्दैआएकी मैयाँ सुवालले पनि पहिलेका वर्षभन्दा यो वर्षमा दैनिक सयौँभन्दा बढी पर्यटक आए पनि व्यापार बढ्न नसकेको बताइन् ।
“पर्यटक सङ्ख्या वृद्धि भएअनुसार दैनिक पाँच प्रतिशत मात्र पर्यटकले पर्यटकीय सामग्री खरिद गरिदिएको भए पनि व्यापारमा वृद्धि हुन्थ्यो होला, यहाँ आउने तीन प्रतिशत पर्यटकले पनि यहाँका पसलमा कुनै सामान किनेको देखिँदैन, यसले गर्दा अब म जस्ता पर्यटन व्यवसायीले यसको विकल्पका रुपमा अर्के पेसा अपनाउनुपर्ने अवस्थासमेत आएको छ”उनले गुनासो गरिन् ।
आव २०६७÷०६८ मङ्सिरसम्ममा १९ हजार ९६९ पर्यटकले भक्तपुर प्रवेश गरेका थिए । सार्क राष्ट्रबाट एक लाख १८ हजार ७७१ र त्यसबाहेक अन्य मुलुकबाट ८९ हजार ३९१ गरी कुल दुई लाख ८ हजार १६२ जना आएको भक्तपुर नगरपालिकाको सूचना केन्द्रमा उल्लेख छ ।
भक्तपुर अवलोकनका लागि चिनियाँ, अमेरिकी, कोरियाली, भारतीय र जापानीलगायत अन्य देशका पनि आउने गरेको पर्यटन विकास बोर्ड भक्तपुरले जनाएको छ ।
पर्यटकीय सामानको मूल्यमा वृद्धि हुनु र पहिलाको जस्तै सामानको गुणस्तरमा अलि ह्रास आएकाले पनि यो वर्ष पर्यटको सङ्ख्यामा वृद्धि भएअनुसार व्यापारमा वृद्धि हुन नसकेको बोर्डका पूर्वअध्यक्ष दिवानचन्द धौभडेलले बताउनुभयो ।
0 comments:
Post a Comment