पेट्रोलियम पदार्थको मूल्य बढ्यो

By
Advertisement
निगमको संचालक समितिले शनिबार साँझको बैठकबाट पेटोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैया, डिजेल र मट्टीतेलमा प्रति लिटर १-१ रुपैया बढाएको छ ।

आज बढाएको मूल्य पछि अब पेट्रोलको मूल्य प्रति लिटर १ सय २५ हुनेछ भने मट्टीतेल र डिजेलको मूल्य १ सय रुपैया पुगेको छ ।

त्यस्तै बैठकले अन्तराष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ५० डलर र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको छ ।

भारतीय आयल निगमले अगस्ट १ मा पठाएको नया मूल्य सुची अनुसार पेट्रोलमा प्रतिलिटर ९० पैसा, डिजेलमा ९ रुपैयाँ ३१ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५ सय २३ रुपैयाँ ७३ पैसा घाटा हुने भएकोले मूल्य बढाउनु परेको निगमका प्रवक्ता शिवप्रसाद पुडासैनी बताउनु हुन्छ ।

डलर संग नेपाली रुपैया कमजोर भएपछि आयात मूल्य बढेकोले निगमलाई घाटा भइ मूल्य बढाउनु पर्ने बाध्यता सिर्जना भएको निगम स्रोतको दाबी छ ।

समायोजन भएको मूल्य अनुसार पेट्रोलमा १ रुपैया १० पैसा तथा मटिट्तेलमा ७ रुपैयाँ ५४ पैसा नाफा हुन्छ भने डिजेलको घाटा ८ रुपैयाँ ३१ पैसामा झरेको निगमले बताएको छ ।


आन्तरिक तथा अन्तराष्ट्रिय हवाई इन्धनको मूल्यमा पनि आयल निगमलाई नाफा नै रहेको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई अझै १ अर्ब घाटा लाग्ने निगमले बताएको छ । मूल्य बढ्नु अघि घाटा १ अर्ब १५ करोड रहेको थियो ।