
औजारबाट गरिने गर्भपतनका कारण ‘साइडइफेक्ट’ देखिन थालेपछि सरकारले २०६५ सालदेखि औषधिबाट गर्भपतन सेवा दिन थालेको हो ।
जस्को कारण गर्भपतन गर्ने औषधि सजिलै पाउन थालेपछि यसबाट हुने समस्या लिएर स्वास्थ्य संस्थामा आउनेको सङ्ख्या पनि बढ्न थालेको छ ।
केन्द्रीय परिवार नियोजन सङ्घका अनुसार केन्द्रमा प्रतिमहिना कम्तीमा पनि सुरक्षित गर्भपतन सेवा लिनका लागि ३५ जना आउने गरेका छन् । तीमध्ये करिब पाँच जना पहिल्यै आफैँले औषधि प्रयोग गरेपछि हुने समस्यालाई लिएर आउने गरेका छन् ।
सङ्घका नर्सिङ अधिकृत यशोदा नेपाल भन्नुहुन्छ– “महिलाहरु आफूलाई शङ्का लागेमा विभिन्न क्लिनिकमा जँचाउन जान्छन्, क्लिनिकले यदि महिला अविवाहित जस्तो लागेमा यसको उपचार पनि यहीँ हुन्छ है भन्ने गर्दछन् ।”
उनीहरुले महिलाको स्वास्थ्यस्थितिलगायत जाँच नगरीकनै औषधि दिने गर्दछन् । औषधि प्रयोग गर्ने विधि नजान्दा महिलाले समस्या भोग्ने गर्दछन्, उहाँले भन्नुभयो– ‘स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधिको प्रयोग गर्नुपर्ने भए पनि प्रयोगकर्ता नै औषधि पाइहालियो भनेर आफ्नै तरिकाले खान्छन् ।’
कतिपय ‘केस’ मा औषधि प्रयोग गरिसकेपछि निरन्तर पेट दुख्नेजस्ता समस्या लिएर आउने गर्दछन्, जाँच गरिसकेपछि थाह हुन्छ उनीहरुको पाठेघर राम्ररी सफा भइसकेको हुँदैन । यस्तो केसमा पुनः पाठेघर सफा गर्नुपर्ने हुन्छ–उहाँले भन्नुभयो ।
कहिलेकाहीँ समस्या देखा परिसकेपछि स्वास्थ्यसंस्थामा ल्याउन ढिला भएमा महिलाको ज्यानैसमेत जाने गरेका विभिन्न घटना भएको समेत उहाँले बताउनुभयो ।
जथाभावी औषधिको प्रयोग गरिसकेपछि निरन्तर तल्लो पेट दुख्ने, रगत बगिरहनु, वान्ता हुनुलगायतका लक्षणलाई बेवास्ता गरी समयमा नै उपचार नगर्ने हो भने गम्भीर समस्या हुने उहाँको भनाइ छ ।
असुरक्षित गर्भपतन गर्दा तरिका नमिलेर बाँझोपन हुनुका साथै धेरै रक्तश्राव भएर महिलाको मृत्युसमेत हुनसक्छ । त्यसैले सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामा जान पनि उहाँ आग्रह गर्नुहुन्छ ।
मातृ मृत्युदर घटाउने सहश्राब्दी विकास लक्ष्य रहेको भए पनि नेपालमा हरेक दिन छ महिलाले गर्भवती तथा प्रसूतिको समयमा ज्यान गुमाउँदै आइरहेका छन् ।
यसैगरी मातृ मृत्युका क्रममा असुरक्षित गर्भपतनका कारण सात प्रतिशतको ज्यान जाने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
असुरक्षित गर्भपतनका कारण महिलामा विभिन्न समस्या देखा पर्नुका साथै ज्यानैसमेत गुमाउनुपर्ने स्थिति आएपछि सरकारले २०५२ सालदेखि प्रसूति गृहलाई सो सेवा प्रदान गर्ने जिम्मा दिएको थियो ।
यसैगरी २०६५ सालदेखि औषधिको प्रयोग गरी गर्भपतन सेवा प्रदान गर्ने उद्देश्यले छ जिल्लामा परीक्षण सेवा सुरु गरिएको थियो । हाल आएर सम्पूर्ण सूचीकृत स्वास्थ्यसंस्थामा औषधिको प्रयोगद्वारा यो सेवा दिन थालिएको छ । नौ हप्तासम्मको गर्भलाई औषधिद्वारा पतन गर्न सकिनेछ ।
सङ्घको गत वर्षको तथ्याङ्कअनुसार नेपालभर औषधि तथा औजार प्रयोग गरी गर्भपतन सेवा लिनेको सङ्ख्या ११ हजार ३६९ रहेको छ । (अन्जली रम्तेल/रासस
0 comments:
Post a Comment