
काठमाडौँ, २९ असोज । सतुङ्गल गाविसस्थित– ७ अवस्थित चौधरी गु्रपको सिजी इलेक्ट्रोनिक्स उद्योगमा लागेको भीषण आगलागी अझैसम्म नियन्त्रणमा आएको छैन ।
अहिले पनि वारुणयन्त्रसहित, निजी खानेपानी ट्याङ्करले आगो निभाउने काम गर्दैछन् । आइतबार साँझ ५ :२० बजे सल्किएको सो आगो नियन्त्रणमा ल्याउन ठूलै प्रयास भइरहेको छ ।
काठमााडौँ उपत्यकामा रहेका चार दमकल र स्थानीय खानेपानी ढुवानीका टयाङ्करले आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।
आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । सो कम्पनीमा काम गर्ने एक सुरक्षाकर्मीले भन्नुभयो, “कम्पनीको दक्षिण दिशामा रहेका पुराना कार्टुनबाट आगो सल्किएको हो ।” सोही कम्पनीमा कार्यरत अर्का कर्मचारीले भने आफ्नो नाम नबताउने सर्तमा भन्नुभयो– वाइरिङ गर्ने क्रममा आगलागी भएको हो ।
उद्योगमा काम गर्ने एक कामदारले आफ्नो नाम नबताउने सर्तमा भन्नुभयो, “साँझ साढे ५ बजे एक्कासि धुवाँको मुस्लो आकाशमा देखिएपछि मात्र हामीलाई आगलागी भएको थाहा भयो ।”
उद्योग वरपरका क्षेत्रमा आगलागी फैलन नपाओस् भन्नका लागि तीनवटै सुरक्षा निकायका दुई हजारभन्दा बढी सुरक्षाकर्मी पानीका ट्याङ्करसहित परिचालन भएका छन् । बिक्रीका लागि तयार गरिएका ती एलजी ब्रान्डका रेफ्रिजेरेटर, टिभी विस्फोटन हुँदा आइतबार ठूलो आवाज आएको थियो । सुरक्षाकर्मीले आगलागीबाट बचाउन ती सामान बाहिर ल्याएका थिए । आगलागीका कारण के कति क्षति भयो भन्ने यकिन जानकारी कम्पनीका कुनै पदाधिकारीले दिन र बोल्न चाहिरहेका छैनन् ।
मुख्य राजमार्गकै छेउमा रहेका कारण काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने यातायातका साधन आइतबार अवरुद्ध भएका थिए । जस्तापाता, भेनिस्ता, कार्टुनलगायत विद्युतीय सामानमा आगलागी भएका कारण आगलागी नियन्त्रण गर्न कठिन भइरहेको यहाँ परिचालित सुरक्षाकर्मीले जानकारी दिए ।
उद्योगको वरिपरिका घरका बासिन्दा आगाका मुस्लो आउने डरले सार्वजनिक स्थानमा बसिरहेका छन् । नेपाल विद्युत् प्राधिकरण बलम्बु शाखाले सम्भावित दुर्घटनाबाट बच्न यस क्षेत्रको विद्युत्को तार काटिदिएको छ ।
अहिले पनि तीनवटै सुरक्षा निकायका र निजी क्षेत्रका खानेपानी ट्याङ्करले आगलागी नियन्त्रणका लागि पानी राखिरहेका छन् । साँझ भएको आगलागी समयमै थाहा भएकाले अहिलेसम्म कुनै मानवीय क्षति नभएकोे कम्पनीले जनाएको छ ।
सो उद्योगले एलजी ब्रान्डका रेफ्रिजेरेटर, टिभी, मोबाइल सेट, कम्प्युटरलगायत जडान गर्ने गर्छ । रासस

0 comments:
Post a Comment