
परिसरका एसएसपी रणबहादुर चन्दका अनुसार राजधानीका ठूला विद्यालयबाट यो अभियान सुरु हुनेछ। कक्षा ८ देखि १२ अध्ययनरत विद्यार्थी समूहमा यस्ता गतिविधि बढी देखिएकाले यही समूहमा कक्षा केन्द्रित गर्ने प्रहरी योजना छ।
चन्दका अनुसार पहिलो चरणमा उपत्यकाका एक सय स्कुल-कलेजमा कक्षा सञ्चालन हुन्छ। अधिकृत स्तरका प्रहरी तथा विज्ञले छानिएका प्रत्येक स्कुलमा दैनिक तीन घन्टा एक सातासम्म कक्षा लिनेछन्। यस्ता कक्षामा सुरक्षा शिक्षाका विभिन्न विषयमा अन्तर्त्रि्कयामूलक परामर्श दिने योजना रहेको चन्दले सुनाए। पहिलो चरणमा सातजनाको समूहले हरेक साता २५ वटा स्कुल पुगेर सुरक्षा शिक्षा दिनेछन्। 'बिस्तारै अन्य निकायसँग पनि सहकार्य गरेर यस्तो शिक्षा देशभरिका शैक्षिक संस्थामा दिने सरकारी योजना छ,' एसएसपी चन्दले नागरिकसँग भने।
परिसर आफंैले केहीअघि गरेको अध्ययनमा प्राप्त सूचनामा लागूपद्धार्थको कुलतमा फस्ने, अपहरणमा पर्ने, साइबर क्राइममा फस्ने, शैक्षिक परामर्शबाट ठगिने, स्कुल-कलेजमा सिनियर समूहबाट पीडित हुनेजस्ता घटनाले सुरक्षा जोखिम बढाएको पाइएको चन्दले जानकारी दिए।
'कक्षा ८ देखि १२ का विद्यार्थी सुरक्षाका दृष्टिले बढी जोखिममा हुने भएकाले उनीहरुलाई सतर्क गराउन र विद्यालयमा सुरक्षित शैक्षिक वातावरण तयार पार्न परिसरले सुरक्षा शिक्षा ल्याएको हो,' चन्दले भने।
सुरक्षा शिक्षाका लागि परिसर प्रवक्तासमेत रहेका डिएसपी चक्रबहादुर सिंहको संयोजकत्वमा 'शैक्षिक सुरक्षा सेल' गठन गरिएको छ।
चन्दका अनुसार सेलले विद्यार्थी, अभिभावक र स्कुल व्यवस्थापनसँग केन्द्रित रहेर शैक्षिक सुरक्षा दिने उद्देश्यले विज्ञहरुको समूहको सहयोगमा पाठ्यक्रम तयार गरेको छ। सेलले विद्यार्थीलाई सामूहिक र व्यक्तिगत गरी दुई किसिमको सुरक्षा शिक्षा दिने व्यवस्था गरेको चन्दले बताए।
'म आफैं गएर उपत्यकाका २० निजी विद्यालयमा अध्ययन गरेको थिएँ,' एसएसपी चन्दले भने, 'कक्षा ८-१२ का विद्यार्थी बौद्धिक र शारीरिक रुपले परिपक्व नभएकाले छिट्टै विभिन्न दुर्घटना र कुलतमा फसेको पाएँ।' एसएसपी चन्दले नागरिकसँग भने, 'शिक्षा क्षेत्रमा बढी जोखिम क्षेत्रका रुपमा अघि बढेको छ।'
उनले थपे, 'आगामी शैक्षिक सत्रदेखि स्कुल-कलेजका विद्यार्थीलाई विभिन्न दुर्घटनाबाट बच्न शैक्षिक सुरक्षा स्कुल-कलेजमै गएर दिने कार्यक्रम तयर गरिसकेका छौं।'
सुरक्षा शिक्षा पाठ्यक्रममा विद्यार्थीलाई अपहरणबाट बच्न, लागूपद्धार्थको कुलतबाट बच्न अपनाउनुपर्ने सावधानी, सवारी दुर्घटना, युवा अवस्थामा स्कुल-कलेजमा हुने ग्याङ फाइटआदि विषय छन्। किशोर अवस्थामा हुने विभिन्न किसिमका झगडा, इगोले उत्पन्न गर्ने नकारात्मक व्यवहार सुधार्ने विषय पनि पाठ्यक्रममा छ।
चन्दले विद्यार्थी मात्र नभई अभिभावक र स्कुल ब्यवस्थापनलाई समेत परामर्श दिने प्रहरी योजना छ। विभिन्न संघसंगठनले विभिन्न निहुँमा शैक्षिक क्षेत्रमाथि गर्ने आक्रमणलाई कम गर्न शैक्षिक प्रहरीकै छुट्टै ब्यवस्था गरिने गृहकार्य अघि बढाएको उनले बताए।
'विशेषगरी बानेश्वर, कोटेश्वर, लाजिम्पाट, ज्ञानेश्वरलगायत बढी शैक्षिक संस्था भएको क्षेत्रमा प्रहरी खटिनेछन्,' एसएसपी चन्दले भने, 'स्कुल बंक गर्ने, लागूपद्धार्थको कुलतमा फस्न सक्ने शंका लागेका विद्यार्थीलाई समाएर स्कुल वा अभिभावकको जिम्मा लगाउनेछ।'
सुरक्षा शिक्षाबारे परिसरले विद्यालय सञ्चालक संगठनहरू हिसान, प्याब्सन, एन-प्याब्सनसँग छलफल गरिसकेको चन्दले जानकारी दिए। हिसानका अध्यक्ष उमेश श्रेष्ठले शैक्षिक संस्था र विद्यार्थीलाई भयरहित बातावरणमा पठनपाठन गराउन प्रहरीको शैक्षिक सुरक्षा प्रदान गर्ने नीति स्वागतयोग्य रहेको प्रतिक्रिया दिए। 'कक्षा ८-१२ सम्मका विद्यार्थीको समूह नै विभिन्न जोखिममा फस्ने समूह हो,' श्रेष्ठले नागरिकसँग भने, 'प्रहरीले अभिभावक, विद्यार्थी र शैक्षिक संस्थाको हितमा कार्यक्रम ल्याएको छ, यसमा हिसानले पूर्ण सहयोग गर्नेछ।'
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले प्रहरीले ल्याएको शैक्षिक सुरक्षासँगै अभिभावकलाई पनि शिक्षा कार्यक्रम ल्याउनुपर्ने सुझाए। 'किशोर अवस्थाका छोराछोरीलाई निगरानी र ब्यवहार कसरी गर्नेबारे अभिभावककेन्द्रित शिक्षा ल्याउनु आवश्यक छ,' भण्डारीले भने, 'आमाबुबालाई बालबालिकाप्रति सचेत गराउनु अति जरुरी छ।'
प्याब्सन अध्यक्ष बाबुराम पोख्रेलले प्लस टुमा अधिकांश किशोर उमेरका अल्लारे विद्यार्थी पढ्ने भएकाले विसंगतिमा फस्ने प्रवृत्ति बढेको बताए। 'विद्यालयले पनि यस्तो शिक्षा दिँदै आएको हो, तर त्यति गहिरिएर लिँदैनन्,' उनले भने, 'प्रहरी आफैं आएर विभिन्न दुर्घटनाबाट बच्ने किसिमको सुरक्षा दिए प्रभावकारी हुनेछ, विद्यार्थीले छिटो सिक्छन्।'
-नागरिक
police-will-teach-in-school
0 comments:
Post a Comment