तुलसीपुर (दाङ), २६ मङ्सिर । तीन वर्षअघि धन कमाउन भन्दै साउदी अरब पुगेका जिल्लाको सिसहनिया गाविस वडा नं ३ का इखबहादुर नेपाली घरमा फर्केपछि अहिले केराखेती सुरु गरेका छन् ।साथीभाइको लहलहैमा लागेर साउदीमा गएपछि धेरै पैसा कमाउन सकिन्छ भन्ने सोचले आफू पुगेको बताउने नेपालीले प्रचण्ड गर्मीमा त्यहाँ भोग्नुपरेको पीडाका कारण अहिले आफू स्वदेशमा फर्केर आयआर्जनका लागि केराखेती सुरु गरेको बताउँछन् ।
अहिले उनले आफ्नो घरवाससँग जोडिएको करिब एक बिघा जग्गामा व्यावसायिकरूपमा केराखेती थालेका छन् । उनीसँग बाख्रा पाल्ने योजना पनि छ । आफू विदेशमै छँदा त्यहाँ भोग्नुपरेको पीडाले स्वदेशमा गएर कृषि काम गर्ने सोच पनि आएको हँुदा अर्काे साल बाख्रापालन पनि गर्ने उनले बताए ।
यसपटक थोरै जग्गामा केराखेती गरेको छु तर आगामी वर्ष धानखेती हुने खेतमा पनि केराखेती गर्छु, उनले भने ।
विदेशमा गरेको जस्तो श्रम आफ्नै ठाउँमा गरेको भए यहीँ नै धेरै कमाई हुने थियो भन्दै उनले विदेशमा भोगेको दुःख पीडा अझै मानसपटलमा ताजै रहेको बताए ।
उनले थपे, त्यही पीडा भुलाउन र स्वदेशमा नै पैसा आर्जन गर्न अहिले घरपरिवारका सदस्यसँगै घरमा बसेर व्यावसायिक केराखेती अङ्गालेको हुँ । उनले स्वदेश फिरेको वर्ष दिन नबित्दै केराखेती सुरु गरेका् हुन् । अहिले उनकै सिको गरेर त्यस गाउँका अन्य किसानले पनि करिब १५ बिघा जग्गामा केराको व्यावसायिक खेती सुरु गरेका छन् ।
केराखेतीलाई केहिले अल्छी खेती भने पनि त्यसबाट मनग्य आम्दानी हुने विश्वास उनको छ । “यसलाई त्यति धेरै मिहेनत चाहिँदैन तर आम्दानी हुन्छ भनेर यसको थालनी गरेको हुँ”— उनले बताए । उनले अब धन कमाउनका लागि भन्दै विदेश नजाने बरु स्वदेशमा नै दुःखसुख गरेर खेती किसानी गरेर घरपरिवार पाल्ने बताए ।
उनले धन कमाउने प्रलोभनमा साथीभाइको हल्लैहल्लामा विदेशिन खोज्ने युवालाई पनि बरु स्वदेशमा नै सीप सिक्न अनुरोध गरे । रासस

0 comments:
Post a Comment