लुटेराले गोली प्रहार गर्दा २ घाइते

By
Advertisement

हेटौँडा, १६ कात्तिक । मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने फापरवासी गाविस–६ का गन्जाबहादुर थिङको घरमा गएराति ५÷६ जना लुटेराको एक समूहले गोली प्रहार गर्दा थिङको २० वर्षीय छोरा प्रदीप थिङ र छिमेकी बुद्धिमान स्याङ्तान गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते दुवैको भरतपुर अस्पतालमा स्वास्थ्योपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

लुटेरा समूहले पटकपटक गोली प्रहार गर्दा घरधनीको छोरा प्रदीपको खुट्टा एवम् छिमेकी बुद्धिमानको छातीमा गोली लागेको छ ।

लुटेराहरुले गन्जाबहादुरकी श्रीमती शुकमाया थिङको कानबाट एक तोला सुनको गहना र एउटा मोबाइल फोन लुटी लगेको फापरबारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले अहिले उक्त घटनामा संलग्न रहेको आशङ्कामा दुईजनालाई पक्राउ गरेको छ ।

यस घटनाबारे अनुसन्धान गर्न हेटौँडास्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयन्त थापासहितको प्रहरी टोली आज बिहान घटनास्थलतर्फ गएको छ । रासस

0 comments:

Post a Comment