
हेटौँडा, ८ मङ्सिर । हेटौंँडा नगरपालिका प्राविधिक सहायक कर्मचारी केवलकुमार श्रेष्ठले घरको नक्सा पारित गर्ने क्रममा लिएको घुस रु तीन हजार ८०० सम्बन्धित दुई नागरिकलाई बिहीबार हेटौँडा नगरपालिकाको हाताभित्र पत्रकारको रोहबरमा फिर्ता गरेका छन् ।
नगरपालिका– ४ का बासिन्दा हरिप्रसाद दुवाडी र कपिलप्रसाद खतिवडाको घरको नक्सा पारित गर्न केही महिना दिइएको निवेदनमाथि प्रक्रिया अघि बढाई टुङ्ग्याउने भनी नगरपालिकाका प्राविधिक इन्जिनियर सत्यनारायण साहले रकम मागेको भन्दै दुई सेवाग्राहीबाट श्रेष्ठले घुस लिई नक्सा पारित गराएको पीडित दुवैले राससलाई बताउनुभयो ।
श्रेष्ठले घरधनी दवाडीबाट रु दुई हजार ३०० र खतिवडाबाट रु एक हजार ५०० इन्जिनियर साहलाई बुझाउन भनी यही मङ्सिर ६ गते लिएको नगरपालिकाको हातामा सञ्चारकर्मीको रोहबरमा स्वीकार गरेका थिए ।
अभियुक्त साह र श्रेष्ठलाई घुस प्रकरण अभियोगमा कानुनी कारबाही प्रक्रिया बढाइएको नगरपालिकाका कार्यकारी अधिकृत टेकराज निरौलाले जानकारी दिनुभयो । रासस
0 comments:
Post a Comment