
भद्रपुर, २३ कात्तिक । भारतले नेपालको पूर्वी क्षेत्रका लागि दिँदै आएको विद्युतमा कटौती गरेपछि पूर्वी क्षेत्रमा विद्युत् भार कटौती बढ्ने भएको छ ।
बिहार विद्युत् बोर्डले कटैया–पूर्णिया विद्युत् प्रशारण लाइनबाट नेपालको दुहवीखण्डलाई दैनिक उपलब्ध गराइआएको ७० मेगावाट विद्युत् विगत चार पाँच दिनदेखि ३५ मेगावाटमा झारेपछि पूर्वीक्षेत्रमा यो समस्या आएको हो ।
नेपाल–भारतबीचको विद्युत् सम्झौताअनुसार भारतले कटैया–पूर्णिया विद्युत् प्रशारणबाट दुहवीखण्डलाई दैनिक ५० मेगावाट दिने उल्लेख भएपनि आपसी सहमतिमा ७० मेगावाट दिइआएको थियो ।
तर, के कति कारणले विद्युत् कटौती गरिएको हो भन्नेबारे भारतीय पक्षले जानकारी नगराएको नेपाल विद्युत् प्राधिकरण झापाका प्रमुख कुशेश्वर साहुले जानकारी गराउनुभएको छ ।
यसअघि पूर्वी क्षेत्र झापामा दैनिक आठ घन्टा विद्युत् भार कटौती हुने गरेकामा अबदेखि दैनिक १० घन्टाभन्दा बढी समयसम्म कटौती हुने अनुमान गरिएको छ । बिहान ८.३० बजेसम्म र बेलुकीको साँझदेखि राति ९.३० बजेसम्म थप कटौती हुने उहाँले जानकारी गराउनु भयो । रासस
0 comments:
Post a Comment