प्रधानमन्त्रीलाई सुकेको धानको बोट

By
Advertisement
सप्तरी, २८ असोज । सप्तरीका किसानले जिल्लालाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सुकेको धानको बोट प्रदान गरेका छन् ।

एकीकृत नेकपा (माआवादी) सप्तरीको मोहनपुर गाउँ कमिटीले कठौना बजारमा आज आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन कठौना आइपुग्नुभएका प्रधानमन्त्री डा भट्टराईलाई किसानहरुले सुकेको धानको बोट प्रदान गरेका हुन् ।


कृषि मजदुर बेरोजगार युवा सङ्घको अगुवाइमा किसानहरुले यसवर्ष वर्षाको अभावमा धेरै ठाउँमा रोपाइँ हुन नसकेको र रोपिएका धानका बोटसमेत सुक्न लागेको भन्दै सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गरे ।

किसानहरुले प्रदान गरेको सुकेको धानको बोट ग्रहण गर्दै प्रधानमन्त्री डा भट्टराईले किसानहरुको माग जायज भएकाले सरकारले राहत उपलब्ध गराउने आश्वासन दिनुभयो ।

सुख्खा क्षेत्रको आवश्यक अध्ययन गरी सरकारले छिट्टै राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले किसानको समस्याप्रति सरकार गम्भीर रहेको बताउनुभयो । स्वागत कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री डा भट्टराईले दलहरुको सहमतिमा छिट्टै पूर्ण बजेट आउने बताउनुभयो ।

उहाँले सरकारले घोषणा गरेको सप्तरीको कठौना कल्याणपुर नगरपालिका कार्यान्वयनका लागि सरकारले गृहकार्य गरेको पनि जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री डा भट्टराईलाई नागरिक समाज र कृषि मजदुर बेरोजगार युवा सङ्घले छुट्टाछुट्टै ज्ञापनपत्र दिएका थिए । रासस

0 comments:

Post a Comment