नेपाली कामदारले हड्ताल गरेपछि कम्पनिद्वारा फिर्ता

By
Advertisement
मलेसिया, असोज २६ – दैनिक ज्याला बढाउनुपर्ने माग राखी हड्तालमा उत्रिएका ८० जना नेपाली कामदारलाई मलेसियाको एक कम्पनीले स्वदेश फर्काएको छ ।

मलेसियाको काम्पोङ सुबाङ शाहआलमको एक फर्निचर कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो ।


१५ जना बिहीबार बेलुकी नै नेपाल फर्किसकेका छन् भने अरु १५ जना शुक्रबार फर्कदै छन् । यस्तै अरु ५० जनालाई पनि केही दिनमा नेपाल फर्काउने कम्पनीले जनाएको छ ।

आफूसगै काम गर्ने कामदारको तलब दैनिक २२ रिङ्गेट भएको तर आफूहरुको ज्याला नबढेको भन्दै झण्डै डेढ सय जना नेपाली कामदार हड्तालमा उत्रिएका थिए । कम्पनीले भने २ वर्षभन्दा लामो समयदेखि काम गरिसकेका कर्मचारीको दैनिक ज्याला बढाएको तर नेपाली कामदारको ३ वर्षे करार कायम नै रहेकाले ज्याला बढाउन नसक्ने बताएको थियो ।

दैनिक २१ रिङ्गेटमा नै काम गर्न राजी भएका कामदारले कम्पनीले काममा लगाएको छ भने त्यसमा असहमत कामदारलाई रोजगारदाता कम्पनी आफैंले टिकट काटेर नेपाल फर्काइदिन लागेको हो । नेपाल फर्किन लागेका कामदारहरु काठमाडौका विभिन्न म्यानपावरबाट मलेसिया गएका थिए ।

किन भयो हड्ताल ?

कम्पनीमा काम गर्ने प्यूठानका मिलन थापाका अनुसार बगंलादेशी र म्यानमारका कामदारको दैनिक तलब २१ बाट बढेर २२ रिङ्गेट भयो तर नेपालीको चाँही २१ को २१ नै भयो । ‘एकै ठाउमा काम गर्ने त्यसमाथि उनीहरुपनि बिदेशी हामी पनि बिदेशी उनीहरुको चाहि तलब बढ्ने हाम्रो चाहि किन नबढ्ने ? त्यसैले हामी सबै नेपाली मिलेर गत अक्टोबर आठ तारीखबाट काम हडताल गरेका हौं’ थापाले भन्नुभयो ।

के रहेछ वास्तविकता ?

यो समस्या थाहा पाएपछि मलेसिमा रहेको नेपाली राजदुताबास अक्टोबर १० तारेखमा कम्पनीमा पुग्यो र वास्तविकता बुझ्यो । राजदुताबासका श्रम सहचारी अमलकिरण ढकालका अनुसार कम्पनीमा म्यानमारी र बगंलादेशीले लामो समयदेखि काम गर्दै आएका थिए त्यसैले उनीहरुको एक रिङ्गेट ज्याला बढेको हो ।

त्यस्तै लामो समय देखि काम गर्ने अन्य नेपालीको पनि बढाइएको थियो । त्यसैगरी राम्रो काम गर्ने र कामको निरन्तरता हेरेर सुपारभाइजरको सिफारिसमा समेत केही नेपालीहरुको तलब बृद्घि गरिएको छ ।

हड्तालमा उत्रिएका अधिकासं नेपालीको दैनिक २१ रिङ्गेटमा काम गर्छु भनेर गरेको करार अबधि (तीन वर्ष) पनि सकिएको छैन । यसरी आफ्नो करार अबधिनै नसकी तलब बृद्घि गर भन्नु अब्यबहारिक र आन्दोलननै गर्नु गैरकानुनी रहेको श्रमचारी ढकालले बताउनुभयो ।

‘मैले आन्दोलन गर्ने नेपालीलाई तपाइँहरुको माग समसामयिक होइन कम्पनीले समय आएपछि आफै तलब बढाइदिने कुरा गरेको छ त्यसैले काममा फर्केको राम्रो भनी सम्झाउँदा समेत उहाँहरुले मान्नुभएन’ ढकाल भन्नुहुन्छ ‘हड्ताललाइ निरन्तर्ता नै दिइ रहनुभएको छ उहाहरुको यो क्रियाकलाप अबैधानिक र गैरकानुनी हो ।’

बिकल्प के होला त ?

राजदुताबासका श्रम सहचारी ढकाल भन्नुहुन्छ ‘काममा फर्कनुभन्दा उत्तम बिकल्प कुनै पनि छैन यदि उहाँहरुले यसरी नै आन्दोलन गरिरहने हो भने कम्पनीले जस्तो पनि कदम चाल्न सक्छ त्यसमा हामी केही पनि गर्न सक्दैनौ ।’ जुन देशमा बसेपनि सम्बन्धित देशको नियम र कानुनको पालना गर्नु हरेक व्यक्तिको कर्तव्य हुने उहाँले बताउनुभयो ।

आन्दोलित नेपालीहरु भने कम्पनीले दैनिक २२ रिङ्गेट दिन्छु नभनेसम्म काममा नफर्कने अडानमै छन् । बरु स्वदेश फर्कने उनीहरु बताउँछन् ।

तर कर्मचारीले उनीहरुको माग पूरा गर्नुभन्दा आफैले टिकट काटेर स्वदेश फर्काउने निर्णय लिइसकेको कम्पनीका मानव संशाधन अधिकृत नवीन एन चिन्तियाले बताउनुभयो ।

-भूमिराज पराजुली/उज्यालो
उज्यालो अनलाइनको सहयोगमा

0 comments:

Post a Comment