
सदरमुकाम जलेश्वरमा अवस्थित सो बन्दीगृहमा अहिले विभिन्न रोगका करिब १५० जना कैदी बिरामी रहेको निमित जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।
उहाँका अनुसार जलेश्वर कारागारमा अहिले ५० जनामा छालासम्बन्धी रोग, ६० जनामा भाइरल ज्वरो, ३५ जनामा रुघाखोकी र सात जनामा क्षयरोग रहेको अवस्था छ ।
एकसय पैँतीस जना मात्रै अटाउने क्षमता रहेको सो कारागारमा अहिले ३५ महिला, सात आश्रित बालबालिका र ३५६ पुरुष छन् ।
जेलर ठाकुरले मौसम परिवर्तन, पानी र शौचालय अभाव र फोहरमैला तथा दूषित वातावरणका कारण कैदीमा विभिन्न रोग लागेको बताउँदै जेल प्रशासनलाई उपचारमा हम्मेहम्मे परेको सुनाउनुभयो । करिब चारसय कैदीबन्दीका लागि कारागारमा पुरुषतर्फ १० र महिलातर्फ दुई शौचालय, क्रमशः छ र दुई खानेपानी पाइप तथा छ र एक धारा मात्र छन् ।
एकसय पैतिस वर्ष पहिले राणाकालमा निर्माण भएको जलेश्वर कारागारमा भवन, भौतिक स्रोतसाधन र ठाउँ अभावका कारण विभिन्न रोगव्याधि लाग्ने गरेको बताउँदै निमित्त जेलर ठाकुरले कारागारलाई सन्तुलनमा राख्न तत्काल १०० कैदी यहाँबाट सार्नुपर्ने बताउनुभयो ।
जलेश्वर कारागारमा केवल महोत्तरीको मात्र नभएर धनुषाका समेत कैदीबन्दी ल्याइने गरेका कारण यो दुई जिल्लाको संयुक्त कारागारका रुपमा रहेको छ । यहाँ महोत्तरीभन्दा धनुषाका कैदी रहेका छन् । दैनिक चारदेखि पाँचजनासम्म कैदी आउने क्रम जारी रहेको जेल प्रशासनले जनाएको छ । रासस
0 comments:
Post a Comment