इलाममा अझै १ महिना बिजुली नहुने

By
Advertisement
हेटौँडाबाट ल्याइएको ट्रान्सफर्मर पड्किएपछि इलाममा एक महिना विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले दुई दिनअघि हेटौँडाबाट ल्याएको १.५ एमभिए (मेगा भोल्ट एम्पियर) को ट्रान्सफर्मर जडान गर्ने क्रममा पड्किएपछि एक महिनासम्म विद्युत् सुचारु नहुने नेपाल विद्युत् प्राधिकरण इलाम शाखाका प्रमुख राजीवकुमार शर्माले बताए ।

चट्याङका कारण आइतबार यहाँ रहेको ट्रान्सफर्मर पड्किएपछि छ दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा इलाम सदरमुकामलगायत जिल्लाका २० गाविसका बासिन्दा प्रभावित भएका छन् ।

विद्युत्को अभावमा इलाम सदरमुकाममा रहेका इलामपोस्ट, इलाम एक्सप्रेस, सन्दकपुर दैनिक, इलाम एफमए र नेपाल वाणी एफएम छ दिनदेखि बन्द छन् ।

विद्युत् सेवा सुचारु गराउनका लागि झापाको दमकमा रहेको ८ एमभिएको ट्रान्सफर्मर ल्याउनुपर्ने प्राधिकरणले जनाएको छ । तर उक्त ट्रान्सफर्मर ल्याउनका लागि माईखोलाको पुलले धान्न नसक्ने शर्माले बताए ।

“क्रेन र ट्रान्सफर्मर ल्याउनुपर्ने हुन्छ दुवैको तौल जोड्दा २९ टनभन्दा बढी हुन्छ” उनले भने ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर अरुण कर्णले पुलको क्षमता अहिलेको अवस्थामा १० टन मात्र भएकाले ट्रान्सफर्मर ल्याउन वैकल्पिक उपाय अपनाउनुपर्ने बताए ।

विद्युत् सेवा अवरुद्ध भएपछि सदरमुकामस्थित निजी बैंकहरुले एटिएम सेवा बन्द गरेका छन् भने जेनरेटरबाट मोबाइल चार्ज गर्न रु १५ देखि ३० सम्म तिर्नुपरेको छ । रासस

0 comments:

Post a Comment