हेर्दा हेर्दै यसरि खस्यो बस त्रिशूलीमा - सुरज कुँवर

By
Advertisement
अघि-अघि उदयपुरको कटारीबाट आएको बस गुडिरहेको थियो । धनगढीबाट ४५ यात्रु बोकेर मैले हाँकेको बस करिब २० मिटर पछाडि थियो । मेरो बसको गति ६०/६५ किलोमिटर प्रतिघन्टा थियो । त्यसको पनि मेरै बसको हाराहारीमा थियो । घडीमा बिहानको साढे चार बजिसकेको थियो । झमझम पानी परिरहेको थियो । विपरीत दिशाबाट दुइटा दस चक्के ट्रक एकले अर्कालाई ओभरटेक गर्दै आइरहेको मैले देखिरहेको थिएँ ।

साँघुरो र चिप्लो बाटामा साइड दिनुपर्ने भएकाले मैले स्पिड घटाएको के मात्रै थिएँ, हेर्दाहेर्दै मभन्दा अघि गुडिरहेको कटारीको बस कृष्णभीरको घुम्तीमा सोझै गयो । म आत्तिएँ । हत्तपत्त ब्रेक लगाएँ । मेरो गाडीमा अधिकांश यात्रु सुतिरहेकाले गाडी न्यूटल गियरमा राखेर भित्तापट्टि रोके‌ । मेरा यात्रु आत्तिएलान् भनेर बस खसेको भनिनँ ।

थाकेको शरीर र मनले निराश महसुस गर्‍यो । भेलको सुस्साहट, बिहानीपख मुग्लिङ-नारायणगढ खण्डमा हुने सवारी चाप र मेरै गाडीको आवाजले गाडी खसेको आवाज त्यति चर्को सुनिएन । स्टेरिङ समातेका मेरा हात र खुट्टा काप्न थाले ।

'गाडी किन रोकेको गुरुजी ?' ग्यालरीमा सुतिरहेका मेरा यात्रुले सोधे, 'मैले हेर्दाहेर्दै कटारीबाट आएको बस खस्यो' भनेपछि काठमाडौं आउँदै गरेका मेरा ४५ यात्रु ब्युँउझएि । केही युवा यात्रु भीरतिर हेर्न गए । बस नदीमा पुगिसकेको थियो । त्यहाँ नजिकै होटलका केही मान्छेले पनि बस गुल्टिएको देखेका रहेछन् । उनीहरू पनि दौडिँदै बस झरेको भीरतिर आए । कोही बाँचेका पो छन् कि भनेर भीरतिर हेर्न थाले । तर झमझम परिरहेको पानी, अँध्यारोले केही देखिएन ।

राजमार्गमा सुनिने गाडीको ब्रेक र इन्जिनको आवाज, पानी र नदीको आवाजले कसैको आवाज सुनिएन । काठमाडौंबाट नारायणगढतर्फ ओर्लिरहेका ती दुई ट्रकले बाटो छिचोल्न नपाउँदै ती ट्रकलाई साइड दिन लागेको बस त्रिशूलीमा खस्यो । त्यसको पछाडि कटारी-काठमाडौं लेखेकाले रात्रिबस रहेको थाहा पाएँ । गाडी लाइनमा लागेको नौ वर्षमा पहिलो पटक यस्तो दुर्घटना देखेपछि आफ्नै पेसाप्रति नकारात्मक धारणा पैदा भइरहेका छन् । जति दुःख गरे पनि यात्रुले प्रायः गन्तव्यमा पुगेपछि धन्यवाद दिन पनि पैसा पर्ला जस्तो गर्छन् । जस दिने थोरै भेटिन्छन् । त्यसबाहेक राजधानी आउने राजमार्गमा चेकिङ भने भइरहेको देखिन्छ । तर स्पिड कन्ट्रोल गर्ने टाइमिङ विधि, गाडीको इन्जिनको नियमित जाँच, चालकको अनुभवबारे सरोकार राख्नेलाई चासो नै हुँदैन । जसरी पनि गन्तव्यमा चाँडो पुर्‍याउनुपर्ने यात्रुको दबाब हुन्छ । यस्तै कारणले बस दुर्घटना भइरहन्छ । न जाँच हुन्छ । न त आयोग बन्छ । यसमाथि यसबेलाका सडकको हालत हेर्‍यो भने, बाँचिन्छ जस्तो लाग्दैन । ब्रेक लगाउनेबित्तिकै चिप्लिने सडक छन् । अनुगमन फितलो छ । मेरो अनुभवले भन्छ, साना लापरबाहीले सडक दुर्घटनामा मर्ने सर्वसाधारण बढेका बढ्यै छन् । म सबै चालकका पक्षबाट सरोकारवालालाई अनुरोध गर्न चाहन्छु, सडक अनुशासन र सडकको गुणस्तर कायम गरिनुपर्छ ।

(सुरज कुँवरसँग कान्तिपुरले गरेको कुराकानीमा आधारित)

0 comments:

Post a Comment