
हेटौँडा, १६ कात्तिक । हेटौँडा सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गर्न भनि संचालन गरिएको रोप –वे करिब पाँच वर्षअघिदेखि बन्द हुदा प्रयोगविहीन एवम् जीर्ण भएको छ ।
हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योग स्थापना गरेको बेलामा नै रु नौ करोड ३० लाखको लागतमा उक्त रोप–वे स्थापना गरी सञ्चालनमा ल्याएको थियो । उक्त रोप–वेले दैनिक दुई मेट्रिक टन चुन ढुङ्गा ढुवानी गर्ने गरेको थियो ।
हेटौँडा नगरपालिका– ९ लामझुरेमा रहेको हेटौँडा सिमेन्ट उद्योगको भण्डारणबाट स्थानीय भैंसे खानीसम्म १३ किलोमिटर लामो दूरीमा रोप–वे सञ्चालन हुँदै आएको थियो ।
सिमेन्ट उद्योगले साबिकमा ७४ वटा रोप–वे क्यारियर सञ्चालन गरेको भए तापनि केही वर्षअघि ५० वटा क्यारियर मात्र चालु रहँदै आएको थियो ।
साबिक रोप–वे दैनिक सञ्चालनमा ल्याउँदा वार्षिक मर्मतसम्भार खर्च बढी हुने भएकोले र ट्रकबाट ढुवानी गर्दा उद्योग व्यवस्थापनलाई आर्थिक व्ययभार ज्यादै कम पर्ने भएकाले पुरानो रोप–वेलाई पुनः सञ्चालन नगरिएको हेटौँडा सिमेन्ट उद्योगका नायबमहाप्रबन्धक राजाराम अधिकारीले बताउनुभयो ।
हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले सो रोप–वे अन्य कम्पनीलाई बेच्ने निर्णय गरेको बताइएको छ ।
तस्बिर: गूगल
0 comments:
Post a Comment