
सोलुखुम्बु, १६ कात्तिक । भिर र जङ्गलको नजिक रहेको बारीमा लगाइएको बाली जोगाउनका लागि बालबालिका बिहान उज्यालो भएदेखी साँझसम्म बारीमै बस्छन् ।
“गाउँभरका साथीभाइ जम्मा हुन्छौँ, बारीमै खैल्छौँ, घरबाट लगेको खाजा उतै खान्छौँ, अनि साँझ परेपछि मात्र घर फर्कन्छौँ,” सोताङ–६ का करिब १२ वर्षीय नौकुबीर नाछिरिङले भने ।
“बारीमा बाली पाक्ने बेलामा त कहिले पनि स्कुल जाँदैनौँ, स्कुलमा कोही पनि हुँदैनन् के जानु र” बालक नाछिरिङको भनाइ छ । आजभोलि बारीमा कोदोबाली पाक्न थालेकाले बालबालिका दिनभर बारीमै बस्ने गरेका छन् ।
“जङ्गल र भिरको छेउमा रहेको बारीमा बाली पाक्न नपाउँदै हुलका हुल बाँदर आएर सिध्याउने हुनाले बिहान उज्यालो भएदेखि साँझसम्म बाँदर खेदाउन बारीमै बस्नुपर्छ । एउटै हुलमा सयभन्दा बढी बाँदर आउने र घु¥याउनसम्म आएर बालीनालीमा क्षति पु¥याउँछन् अनि त बारीमा बस्नै पर्यो नि” सोताङ– ६ रोककी तुलीमाया नाछिरिङले बताइन् । अभिभावक काम गर्न जानुपर्ने भएकाले बाँदर खेद्ने जिम्मा बालबालिकालाई हुने गरेको तुलीमायाको भनाइ छ ।
रोकका बालबालिका वर्षमा आधाभन्दा बढी समय बाँदर खेद्दैमा बिताउँछन् । कात्तिक—मङ्सिरमा कोदो, चैत—वैशाखमा गहुँ जौ, जेठ—असारमा आलु तथा साउन—भदौमा मकैबाली जोगाउनुपर्ने भएकाले सधैँजसो बारीमा बसेर बाँदरको गोठालो लाग्नुपर्छ । बाँदर खेद्न जानुपर्ने भएकाले विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको स्थानीय शिक्षक भूपेन्द्र नाछिरिङले बताउनुभयो । उहाँका अनुसार बाली पाक्ने बेलामा त विद्यालयमा विद्यार्थीको उपस्थिति अत्यन्तै कम हुने गर्छ ।
त्यहाँका बालबालिका दिउँसो बाँदर खेद्न जान्छन् भने अभिभावकले रातको समयमा भालु तथा दुम्सी खेद्न जानुपर्छ । दुम्सी र भालुले पनि बालीनालीमा क्षति गर्ने भएकाले बाली पाक्ने समयमा धेरैको वास बारीमै हुने स्थानीय तुलीमायाले बताइन् ।
“बारीमा बाली पाक्न सुरु हुन नपाउँदै विद्यालयमा विद्यार्थी घट्न थाल्छन्, बाली उठाउने बेलामा त विद्यालय रित्तै हुन्छ, अनि कसरी पढाउने”,— शिक्षक भूपेन्द्र नाछिरिङले भने ।
बालबालिकाले दिउँसो र अभिभावकले राति रुँग्दरुँग्दै पनि बेलाबेलामा जङ्गली जनावरले बालीमा क्षति पु¥याउने गरेका छन् । “बाली बनकरले खाएमा हामी खानै पाउँदैनौँ, त्यसैले बालबालिकालाई रुँग्न पठाउन नै प¥यो नि” तुलीमायाले भनिन् ।
बाँदरको ठूलो हुल आएको बेलामा बारीमा थोरै बालबालिका भएमा बाँदरले आक्रमण गर्ने डरसमेत हुने गरेको छ । जनावरले गाउँका केही बालबालिकालाई घाइते बनाएको छ । दुई वर्षअघि बाँदरको आक्रमणबाट एक बालकको मृत्युसमेत भएको शिक्षक भूपेन्द्रले बताए । रासस
0 comments:
Post a Comment