मेरो मृत्यु दैब -- भाग १

By
Advertisement

जुन बेला जुन समय म पढ्दै थिएँ त्यस समयमा म लगायत मेरा साथीहरुले जेल जीवन भन्दा ठूलो भोगाई भोग्न बाध्य थियौं । हामी दिन रात होस्टेल इन्चार्ज म्यामको गाली बेइजती सार्है कठोर र कडा वातावरणमा हुर्केका थियौँ ।

 तर पनि हामीलाई त्यति धेरै गुनासो थिएन किनकी हामी Social Work सम्बन्धी ट्रेनिङ लिनु थियो । बास्तवमा छातीमा हात राखेर भन्नु पर्दा हाम्रो होस्टेल इन्र्चाज म्यामको १००% मा १५% पनि अनुशासन थिएन ।

हामी होस्टेलमा २५ जनाको पीडा एउटै थियो यस्तैमा हाम्रो ९ महिना कहिले बित्ला भनेर हामी दिन रात भगवानको प्रार्थना गरेर बस्थ्यौं ।


 दिन-रात, क्षण-क्षण, हामीले खाना खाएकोमा पनि म्यामको टाउको दुख्थ्यो । यस्तैमा एक साँझ होस्टेलको गेटमा आवाज आयो । बिस्तार गेट पाले दाइले गेट खोल्नु भयो । म जिल्ल परेँ गेटमा मेरी प्यारी बहिनी आएकी रहिछिन् ।


ओहो ! रुपा तँ यसरी साँझमा किन आइस् के भयो घरमा कस्तो छ | उस्को त्यो मन्द मुहार मलिन भयो मेरो भनाइले मेरा साथीहरुले रुपालाई के भयो किन आएकी भन्ने प्रश्न गरे ।

दादा आमा बिरामी हुनुहुन्छू उस्ले बिस्तार ओठ खोली । उस्को भनाइले मेरो होस हवास नै उडायो तन मन सबै बेहोसी पारामा पुर्यायो म होस्टेल इन्चार्ज म्यामकोमा गए ।

म्याम ! मेरी आमा बिरामी हुनुहुन्छ रे बहिनी मलाई लिन आएकी रहिछे के गर्ने होला म्याम ? मैले मलिन स्वरमा भनेँ ।

खोई को लिन आएको हिँडम्याम बाङ्गो मुन्टो लाउदैं बाहिर आउनु भयो ।

'नानु के भयो तिम्री आमालाई बिरामी रे' म्यामले चर्को स्वरमा भन्नु भयो ।

हो …………हो ………॥ म्याम आमा सार्है बिरामी हुनुहुन्छ त्यसैले म दादालाई लिन आएकी । बहिनीले न्याउरो मुख लाउदै भनी ।

म्यामको मुख झनझनै बर्षादमा मडारिएको कालो मेघ झैँ भयो र प्याच्च भन्नुभयो ।

हेर नानु हाम्रो इन्सिच्युटको छुट्टै नियम छ बाहिर फेर जो आयो उसैसंग पठाउने नियम छैन पक्का अभिभावक हुनु पर्छ । यो एउटा संस्था संस्थाको नियम छुट्टै छ । त्यसैले अहिले अँध्यारो भइसक्यो तिमी गई हाल आफ्नो बाटो लाग । म्यामले निर्दयी पारामा आफ्ना कुराहरु प्रकट गर्नुभयो ।

म्याम अँध्यारो भई सक्यो हाम्रो यस शहरमा कोही पनि हुनुहुन्न आजै यो नानु घर पुग्ने कुरा पनि आएन ! कि ………ट्याक्सी खोजेर म पनि जाउँ म्याँम ………। त्यति धेरै टाढा छैन | २ घण्टा ट्याक्सीमा जान्छौं अनि राती त्यहाँ चिनेका आफन्तकामा बस्छौं र भोलि हिडेर घर जान्छौं, हुन्छ म्याम ? मैले सोधे ।

म्यामको मुख झनझनै कालो अन्धकारको बुट्टा झाडी जस्तो डरलाग्दो देखियो र उहाँले पनि ठूल्ठूला आँखा लाएर खाउँलाकी झैं गरेर हेर्नु भयो । म्यामले आँखा तर्दा हान्ने साढे झैं लाग्यो, म्यामले बोल्दा मलाई मेघ गर्जे झैँ लाग्यो, म्यामले हात हल्लाउँदा मलाई यस्तो लाग्यो कि महाभारतको युद्धमा तरवार हल्लिरहेछ । जीउ हल्लाएर बोल्दा हान्ने साँढेले लखेटे झैँ लाग्यो उहाँको भनाई ।

"अहँ ! यो नौ महिना तिमीले कंही जान पाउँदैनौ यो तिमीलाई मनलागेको समयमा हिँड्ने बेला हैन । तिम्ले होस्टेलको नियम पढेका छौ ?" उहाँका बचन मानवीय थिएनन् झैँ लाग्दथ्यो ।

मेरा मनमा २० औँ बसन्तका अल्लारे पनको जोस थियो तर पनि म आवेशमा आएको थिइनँ । चर्केर भने बोल्न सक्ने थिएँ ।

"म्याम वास्तावमा यो संस्था ठीक छैन किन कि विदेशीहरुले हामीलाई पैसा दिएर पढ्नु पर्छ भन्ने सर्तमा स्थापना भएको संस्था आज झन उल्टै हामीसँग पैसा लिएर समयको बर्बाद गरेर एक हप्तामा दुईदिन पढाई भन्छ गफै मात्र तीन दिन फिल्ड प्लेसमेन्ट भन्छ । अरुको संस्थामा कर्मचारीले नगरेको काम गर्नुपर्छ न त होस्टेलको फि तिरेपछि खाजा छ । २ दिन बिदा भन्छ जेलमा झैँ बिदा मनाउनु पर्छ बाहिरी वातावरणमा हिँड्न दिँदैन । के हो त्यसमाथि पनि आमा बिरामी हुँदामा जान नपाउने रे " मैले चर्किएर भने ।

"म्याम जे होस् आज अँध्यारो भइसक्यो भोली बिहान हामी जान्छौं तर आज बहिनीलाई यही होस्टलमा राख्न मिल्छ म्याम " मैले पुनः नरम स्वभावले भनेँ ।

"अँह ! मिल्दैन संस्थाको नियम अनुसार चल्नुपर्छ संस्थाको नियम पढेका छैनौ " म्यामले भन्नु भयो । त्यतिकैमा मेरी एक साथीले भनिन् :-

"म्याम संस्थाको नियम जे जस्तो भएपनि आज यस औंसीको रात अँध्यारो भई सक्यो । उनीलाई हामी हाम्रो कोठामा राख्छौ एक दिन त हो नि अब आज यस अन्धकार रातमा एक युवती कहाँ जाउँन् त हामीले त Social Work सम्बन्धी पढेको यस्तो रातको समयमा शहरको वातावरण थाहा नभएकी युवती केटीलाई त्यस माथि पनि आफ्नै बैनीलाई यस्तो व्यवहार गर्नु ठीक हो " प्रमिलाले भनिन् ।

म्यामले मेरी साथीलाई पनि गाली गर्नु भयो । "ठिकै छ म्याम तपाइको को संस्थाको नियम तपाईंको पोल्टामा राख्नोस् मलाई तपाईंको नियम चाँहिन्न मेरो प्राण भन्दा प्यारी बैनीको सुरक्षाका लागि म आफैं बाहिर फेरो पाटी पौवा मन्दिरमा साथी बसी रात बिताउँछु" मैले भने ।

म बैनीको हात समाएँर जेलजस्तो गेटसंग नडराइ निस्किएँ ममा कुनै डरको सिमा रहेन । मान्छेले मान्छेलाई दिने पीडा मैले आफैँ भोग्ने दिन आएको सम्झें दुःख बुझ्न सकिँदो रहेछ तर दुःख मेटाउन गाह्रो हुँदो रहेछ जस्तो लाग्यो र हामी सरासर हिड्यौँ । दोबाटोमा आएर कताजाने के गर्ने म अलमल्ल परें । प्यारी बहिनी न्याउरो मुख लगाएर मेरो मुखमा हेरी रहेकी थिई ।

"बसन्त ! म्याम संग हामीले सल्लाह गरेर लिन आएको हिँड् होस्टेलमा जाउँ किन यो दोबाटोमा बस्छौ "हरि र कमलले भने ।

"म जाँदिन यार "

"हिँड् जानै पर्छू"

"त्यत्रो तिरस्कार खपेर म फेरी जान सक्दिन ।"

"त्यसो नभन् बसन्त"

"तिमीहरु जाओ यार "

"तँ नगए हामी पनि जादैनौं हेर "

"मलाई भनेको तिमीहरुले सुनेका छैनौ "

'हेर तँलाई भनेको शव्दले हाम्रो पनि चित्त दुखेको छ यार"

"उसो भए तिमीहरु जाओ यार "

"बसन्त तँ घमण्ड नगर हिँड् "

"ठिकै छ भनि हाल्यौ ! भित्र फेरि म्यामको त्यो चर्को आवज सुन्नु पर्यो भने मलाई साथ देओ हामी सब मिलेर होस्टेलमा आन्दोलन गर्नुपर्छ बुझ्यौ "

"ठिकै छ जाउँ हिँड् बैनीलाई अघि लगाऊू कमलले भन्यो ।"

रात छिप्पिुदै गयो तर मलाई निन्द्रा परेन भोलिपल्ट बिहानै चिठी लेखेर घरतिर जाने तयारी गरे चिठीमा मैले विदा पाऊँ भनेको थिएँ तर ……………………॥

एकाविहानै म्यामको पुनः डरलाग्दो हेराई देख्न पुग्दा मनमा कताकता कुराहरुको ऐठन चल्यो जलन भयो पीडा भयो म्यामले मलाई विदा मिल्दैन भन्नुभयो ।

"Social Work सम्बन्धी पढाउने रे दुनियाँ दिवानाको सेवागर्नुपर्ने तर आफ्नै आमा बिरामी पर्दा पनि जान नपाउने कस्तो नियम यो" म चर्किएँ चिच्याएँ सम्पूर्ण सुतिरहेका साथीहरु उठेर हामीतिर नै आए ।

"म्याम ठिकै छ म यस इ_िन्सच्यूटमा पढ्दिन म आजै र अहिल्यै छोडी दिन्छु बुझ्नुभयो आफुले ध्यान लाएर किताब खोजेर पढ्यो भने यहाँको भन्दा राम्रो हुन्छ त्यसैले म आजै छोडीदिन्छु ।" मैले भनें ।

सम्पूर्ण साथीहरुले मलाई र म्यामलाई सम्झाए मैले इ_िन्सच्यूट छोडेमा सम्पूर्ण साथीहरुले पनि छोडीदिने कुरा गरे हामी सम्पूर्ण साथीले इ_िन्सच्यूट छोडे देखि यी ठगहरुको हात मुख जोड्न धौ-धौ हुने कारणले मलाई बिदामा पठाउने कुरा भयो । मैले सुभप्रभातमा घर जाने तयारी गरें ।

मेरी प्यारी बैनी रुपा र म साथीहरुसंग बिदा भएर जेलको गेटबाट बाहिर निस्के झैँ बाहिरी वातावरणमा निस्कियौं हामी दुईलाई पुर्याउन गौतम अनिल प्रमिला हरी कमल लगायतका साथीहरु आए । यसरी हामी गाउँतिर लाग्ने क्रममा एउटा डरलाग्दो बिरालोले झट्ट बाटो काट्यो । मेरा मनमा अनेक तरहका कुराले खुल्दुली मच्चाइरहेका थिए तर यो काल्पनिक घटना बहिनिले देखेकी थिइन ।

लेखक: स्व. दामोदर सापकोटा " निर्दोषी"

3 comments:

  1. कथाबस्तु सुरुमा नै मार्मिक रैछ | अनि लेखकको बारेमा जानकारी छैन नि | आफैले लेख्नु भएको हो ??

    ReplyDelete
  2. आफैले लेखेको होइन उपन्यास र उपन्यास लेखकको बारेमा म पछि बताउने छु |

    ReplyDelete