मिनिटेलरले जोत्न पाउदा किसान हर्षित

By
Advertisement

१४ कात्तिक, बाग्लुङ । परम्परागत कृषि पेसा गर्दै आइरहेका बाग्लुङका किसानहरूले बिस्तारै आधुनिक प्रविधिबाट काम गर्न सुरु गरेका छन् ।

ग्रामीण क्षेत्रका किसानहरूले सहज र सुलभ तरिकाले आफ्नो खेतबारी खनजोत गर्न र खेतीपाती गर्न मिनिटेलर हलोको प्रयोग गर्न थालेका हुन् ।

मिनिटेलर हलोको प्रयोग गर्दा खेतबारी केही छिनमै खन्न र जोत्न सकिने भएपछि किसानहरू उत्साहित बनेका छन् ।

डिजेलबाट चल्ने र कम खर्चमै खरिद गर्न सकिने भएपछि मिनिटेलरप्रति किसानहरूको आकर्षण बढ्दै गइरहेको हो ।

मिनिटेलर हलोको प्रयोग गर्दै आइरहेका बागलुङ नगरपालिका-५ का किसान नारायणप्रसाद शर्माले भन्नुभयो- “सानो हुने भएकाले बाँझो पनि नरहनेे गोरु नअट्ने ठाउँमा पनि सजिलै प्रयोग गर्न सकिने भएकाले यो हलोले काममा निकै सजिलो हुनुका साथै गोरु पाल्ने झन्झट पनि नहुने धेरै खेतला पनि नचाहिने भएपछि जनशक्ति खर्च पनि बच्ने गरेको छ ।”

मिनिटेलरको हलोको प्रयोगले गर्दा किसानहरूलाई काम छिटो पनि भएको र आर्थिक भार पनि निकै कम पर्ने भएकाले आफूले यही हलो प्रयोग गरेको अर्का किसान महेन्दबहादुर सुवेदीले बताउनुभयो ।

बागलुङ गहतेका किसान रूपा केसीले पाँच छ जना भएर दिनभरमा खन्न सकिने जग्गा यो हलोले एकैछिनमा भ्याइदिन्छ महिला दिदीबहिनीलाई पनि यसले सहज बनाएको छ भन्नुभयो । एकवर्षअघि धौलागिरि अञ्चलमा प्रयोगमा ल्याइएको हलो अहिले सय भन्दा बढी किसानले प्रयोग गर्दै आइरहेका छन् ।

बागलुङ जिल्लाका पाण्डवखानी, रिघा, सिगाना, ग्वालीचौर, पैयूँपाटा, राजकुत, नरेठाँटी म्याग्दीको पात्लेखेत, रत्नैचौर, पिप्ले, पर्वतको पाङ, खुर्कोटलगायतका गाविसका किसानले अहिले मिनिटेलर हलोलाई प्रयोगमा ल्याएका छन् । रासस

0 comments:

Post a Comment