भाइरल ज्वरो भन्दा भन्दै खतरनाक इन्फ्लुएन्जा होला है

By
Advertisement
कञ्चनपुर, २ कात्तिक । कञ्चनपुरका तीन स्वास्थ्य संस्थाद्वारा सङ्कलित भाइरल ज्वरोको नमुनामा पान्डेमिक इन्फ्लुएन्जाका भाइरस फेला परेको पुष्टी भएको छ ।

पाटन हेल्थ एकेडेमीका चिकित्सकको टोलीले महाकाली अञ्चल अस्पतालबाट छ, सुडा स्वास्थ्य चौकीबाट तीन र दैजी स्वास्थ्य चौकीबाट तीन गरी १२ वटा भाइरल ज्वरोका नमुना सङ्कलन गरी गत महिना परीक्षणका लागि काठमाडौँ लगेको थियो ।


एकेडेमीले तीन सातापछि भाइरल ज्वरोका सङ्कलित १२ वटै नमुनामा एचवान, एनवान र बी पोजेटिभ इन्फ्लुएन्जाका भाइरस फेला पारेको पुष्टी गरेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवदत्त भट्टले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालयका अनुसार गत भदौ महिनामा मात्रै विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका ३८ हजार ८१३ बिरामीमध्ये १५ हजार ३८८ जना इन्फ्लुएन्जाबाट प्रभावित भएका थिए । दुई हजार ३०० मा टाइफाइडका लक्षण देखापरको थियो ।

इन्फ्लुएन्जाका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि जनस्वास्थ्य कार्यालयले रोकथाम र नमुना परीक्षणका लागि गत महिना स्वास्थ्य विभागसँग अनुरोध गरेको थियो । सोहीअनुरूप स्वास्थ्य विभागले परीक्षणका लागि चिकित्सकको टोली यहाँ पठाएको थियो ।

भट्ट भन्नुहुन्छ— एक व्यक्तिबाट अरू व्यक्तिमा रोग सर्न नदिनु नै मौसमी तथा पान्डेमिक इन्प्लुएन्जा रोकथामको मुख्य उपाय भएकाले हाच्छिउँ आउँदा नाक मुख छोप्ने र हात मिलाउनुको साटो नमस्कार गर्ने बानीको विकास गर्नु उपयुक्त हुन्छ ।

नाकबाट पानी बग्ने वा नाक बन्द हुने, टाउको दुख्ने, मांसपेसी दुख्ने, हाडजोर्नी दुख्ने, आलस्य हुने, झाडापखाला हुने, वाकवाकी लाग्ने, पेट मडारिने, खोकी लाग्ने , सास फेर्न कठिन हुने लक्षणहरू देखापरेमा स्वास्थ्य संस्थाहरूमा जान उहाँले सर्वसाधारणलाई सल्लाह दिनुभएको छ । रासस

0 comments:

Post a Comment