पाँचदिनकी सुत्केरीको मृत्यु, जीवित शिशुको हेरचाहमा समस्या

By
Advertisement

रुकुम, २ कात्तिक । जिल्लाको गोतामकोट गाविसमा पाँचदिनकी एक सुत्केरीको मृत्यु भएको छ ।

वडा नं ४ की ३० वर्षीया बली महतराको सुत्केरी भएको पाँच दिनपछि मृत्यु भएको हो ।

गत असोज २५ गते घरमै सुत्केरी भएकी महतराको असोज ३० गते मृत्यु भएको उपस्वास्थ्य चौकी गोतामकोटका इन्चार्ज कर्णबहादुर केसीले आज फोनमार्फत जानकारी गराउनुभएको हो ।


पाठेघर सङ्क्रमणको कारण महतराको मृत्यु भएको हुन सक्ने केसीले बताउनुभयो ।

सुत्केरी भएको १२ घन्टासम्म पनि सालनाल नखसेपछि सालनाल निकाल्न स्थानीय स्वास्थ्यकर्मी डाकिएको थियो । आमाको मृत्यु भएपनि बच्चा भने जीवितै रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।

बलीका श्रीमान् ७८ वर्षीय बले महतराले आफ्नो अस्वस्थताका कारण शिशुलाई हेरचाह गर्न नसक्ने भएपछि गाउँलेले गाईको दूध खुवाएर बालकलाई पालेका छन् ।

यसअघि पनि बले र बलीका आठ वर्षीय एक छोरा र पाँच वर्षीया एक छोरी रहेका छन् । महतरा परिवारको आर्थिक अवस्था पनि निकै दयनीय रहेको स्थानीयवासीले बताएका छन् । भर्खर जन्मेको छोरालाई कसैले धर्मपुत्र बनाए पनि आफू खुसी नै रहने बलेले बताएको केसीले बताउनुभयो ।

यसैबीच गोतामकोट उपस्वास्थ्य चौकीमै एक शिशुको पनि ज्यान गएको छ । गाविसको १ नं वडाकी एक महिला सुत्केरी हुने क्रममा शिशुको ज्यान गएको हो । रासस

0 comments:

Post a Comment