अब खुल्दैछ शक्तिशाली दल: अशोक राई

By
Advertisement

काठमाडौं, साउन २१ - नेकपा (एमाले) का उपाध्यक्ष अशोक राईले ‘नेपाली राजनीतिमा शक्तिशाली दल खुल्न लागेको' बताएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ (अनिज) को दोस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्दै उनले ‘नेपाली जनताले वैकल्पिक शक्तिका रुपमा भिन्दै परिपक्क दल खोजेकाले त्यसलाई सार्थकता दिन' आफूहरु अन्तिम तयारीमा जुटेको जानकारी दिए।

उपाध्यक्ष राईले प्रमुख दलका नेताहरुको एकात्मक र यथास्थितिवादी सोचका कारण मुलुकलाई अन्योलग्रस्त अवस्थामा पुर्‍याएको र त्यस्तो सोच सङ्घीयता पक्षधर अग्रगामी शक्तिले पनि तोडेर जान नसकेको भन्दै अहिलेको परिस्थितिमा पहिचान, समानता र न्यायका पक्षधर शक्ति एकजुट हुनुपर्नेमा जोड दिए।


बदलिँदो परिस्थितिमा राजनीतिक समाधानका लागि सर्वदलीय र सर्वपक्षीय सहमति गरी संविधानसभाको निर्वाचन गरेर संविधान जारी गरिनुपर्ने धारणा उनको थियो।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन महासङ्घले सञ्चारमाध्यमको संस्थागत, भौतिक र नीतिगत संरचनामै सुधार गर्न सबैलाई झक्झक्याइरहेको जानकारी दिए।

महासङ्घका सल्लाहकार उजिर मगर, केन्द्रीय सदस्य खिम घलेलगायतले नेपाली सञ्चारमाध्यममा जातीय समावेशिताको मागमात्र नउठाएर अहिलेको प्रतिस्पर्धी समयमा पत्रकार सक्षम र क्षमतामुखी बन्नुपर्ने खाँचो औँल्याए। रासस

0 comments:

Post a Comment