
आफन्तको बिहेभोजमा गएर फर्कदै गर्दा आफ्नो काखमा रहेको ७ महिने छोरा गायब भएपछि रुपन्देही बुटवल -७, मिलनटोलका बिकास मित्तल र ममता मित्तल निक्कै नै अताल्लिए ।
दिउसोको दौडधुपले गर्दा सबै सबै थकित थिए, गर्मि भएकोले झ्याल खुल्लै थियो । काखमा रहेको छोरा खेलाउदा खेलाउदै निदाएपछि मित्तल दम्पत्ति पनि बसको सिटमा नै निदाए ।
बुधबार बिहान बस मुग्लिन कटेर नवलपरासीको दलदलेमा आइपुगेपछि मित्तल दम्पति बिउझिए तर काखमा रहेको छोरो भेटेनन । सिट मुनि तिर छ कि भनेर खोजे, अघि पछि सबै तिर खोजे तर कतै भेट्टाउन सकेनन ।
अनि झ्याल खुल्लै भएकोले पक्कै झ्यालबाट नै खस्यो होला भन्ने शंका गरे र लागे अघि आएको बाटो तर्फ आफ्नो पहिलो सन्तान ७ महिनाको छोरा खोज्न ।
उता झ्यालबाट खसेको छोरालाइ भने काठमाडौँबाट नारायणघाट तर्फ जादै गरेको एक ट्रकका चालकले भेटेर प्रहरी चौकीमा बुझाई सकेका थिए ।
रातको साढे १२ बजे सडकको एक कुनामा बच्चा रोइरहेको देखेपछि चालकले बच्चालाई नजिकैको मझिमटार प्रहरी चौकीमा लगेर बुझाए । रात भरिको अनुसन्धान पछि बच्चाको बारेमा अन्य केहि जानकारी प्राप्त नभए पछि बच्चालाई बुधबार बिहान इलाका प्रहरी कार्यालय गजुरी लगियो ।
बच्चाको बाबुआमा - मित्तल दम्पत्ति हराएको छोरा खोज्दै बुधबार बिहान मुग्लिन आइपुगे र प्रहरीलाई बेलिबिस्तार लगाए । प्रहरीले मित्तल दम्पत्तिको कुरा सुनेपछि हिजो भेटिएको बच्चा यीनिहरुकै हुनु पर्छ भने अन्दाज लगाए र इलाका प्रहरी कार्यालय गजुरी पठाइदिए ।
बिहान करिब ९ बजे मित्तल दम्पति प्रहरी कार्यालय गजुरी पुग्दा बच्चा प्रहरी संग खेल्दै गरेको थियो । आफ्नो छोरा सकुसल देखेर मित्तल दम्पत्तिका आखाबाट हर्षका आशु बगे ।
हराएको आफ्नो छोरा सकुसल भेट्टिएपछी मित्तल दम्पत्तिले प्रहरीलाइ धन्यबाद दिए ।
प्रहरीले बसको झ्याल खुल्ला भएकोले मोडमा बस कोल्टिदा बच्चा झ्यालबाट झरेको हुनसक्ने अनुमान गरेको छ । बसको झ्याल बाट खसेपनि बच्चा सकुशल रहेको र कुनै चोटपटक नलागेको देखेपछि बच्चाको आमाबुबा, आफन्त अनि प्रहरीहरु पनि चकित भएका छन् ।
parents-found-their-lost-son
0 comments:
Post a Comment