
काठमाडौँ, १६ मङ्सिर । आज बिहान निधन हुनुभएका नेपाली काँग्रेसका नेता भीमबहादुर तामाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुर लगिएको छ ।
तामाङको पार्थिव शरीरमा पार्टी सभापति सुशील कोइरालाले पार्टीको चारतारे झण्डा ओढाउनुभएको थियो ।
त्यसैगरी, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमानसिंह, केन्द्रीय नेता एवम् कार्यकर्ता तथा आफन्तले श्रद्धाञ्जलि दिनुभएको थियो ।
नर्भिक अस्पतालमा निधन हुनुभएका तामाङको पार्थिव शरीर पार्टी नेता, कार्यकर्ता एवम् शुभेच्छुकको अन्तिम श्रद्धाञ्जलिका लागि दिउँसो आज ३ बजेसम्म पार्टी कार्यालयमा राखिने उपसभापति पौडेलले बताउनुभयो ।
प्रातः भ्रमणबाट फर्केर निवास आएलगत्तै अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लगिनुभएका तामाङको ८ः४५ मा निधन भएको थियो ।
पार्टी अफिसमा अन्तिम श्रद्धाञ्जलिको कार्यक्रम सकिएपछि अन्तिम संस्कारको लागि बौद्धगुम्बा लगेर तामाङ संस्कृतिअनुसार गरिने आफन्तजनले बताएका छन् ।
0 comments:
Post a Comment