
भैरहवा, २४ भदौ । बढी पैसा कमाउने उद्देश्यले श्रीमान विदेश गएको बेला श्रीमती पनि अन्यत्र हिँडेपछि रुपन्देहीमा तीन बालक बिचल्लीमा परेका छन् ।
स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार सिद्धार्थ नगरपालिका–९ गोलीगढ बस्ने अन्दाजी ३६ वर्षीय दिलीपकुमार हरिजन डेढ वर्षदेखि विदेश गएकोमा निजको श्रीमती कुसुम कुमारी हरिजन पनि एक सातादेखि घर छाडी बेपत्ता भएपछि छोराहरु पाँच वर्षीय राहुल हरिजन, तीन वर्षीय रोशन हरिजन र डेढ वर्षीय रोमन हरिजन बिचल्लीमा परेका हुन् ।
आमाबाबु दुवै घरमा नभएपछि बुढेसकालमा नातिहरुलाई पालनपोषण गर्ने भार थपिएको हजुरआमा हाटी फर्साटिकर गाविस दुमदुमवा बस्ने फुलमती हरिजनको गुनासो छ ।
ज्वाइँले विदेशबाट पठाएको रु ७० हजार लिएर छोरी एक सातादेखि बेपत्ता भएकी भन्दै खोजतालासका लागि जिल्ला प्रशासन कार्यालयमा लिखित आग्रहसमेत गरेको बाबु चन्द्रभान हरिजनले बताए । रासस

0 comments:
Post a Comment