अब नयाँ घर बनाउने महानगरबासी सावधान हुनुपर्ने भएको छ। भूकम्पीय रूपले जोखिम कम गर्न महानगरले आफ्नो अनुगमनबिना घरको जग राख्न नदिने भएको हो। भदौ १ देखि सामान्य अनुगमन थाल्ने महानगरले त्यसको एक महिनापछि कडाइसाथ अनुगमन गर्ने बुधबार जनाएको छ। काठमाडौंमा बर्सेनि २५ सय घर बन्ने महानगरको तथ्यांक छ।
नक्सा पासै नगरी घरलगायत यसका कुनै पनि संरचना बनाउनै नसकिने गरी कडाइसाथ अगाडि बढिने महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताए।
यसरी बनाउँदा भूकम्पीय दृष्टिले अत्यन्तै कमजोर घर नबन्ने भएका कारण यसले महानगरबासीको हित गर्ने उनले बताए।
'महानगरबासीले नक्सा पासको सामान्य प्रक्रियामा घर बनाउन थाल्छन्, पछि मात्र महानगरबाट स्वीकृत हुन्छ,' अधिकारीले भने, 'यसबाट उनीहरूले घर कस्तो गुणस्तरको बनाउँछन्, हामीलाई थाहा हुँदैन।'
अब जग्गाको बनोटअनुसार घरको संरचना बनाए/नबनाएको पनि अनुगमन हुने उनले बताए। अनुगमनका लागि महानगरले आफ्ना प्राविधिकलाई घरघरमा पठाउने तयारीसमेत गरिसकेको छ।
'अहिले नक्सा पास गर्दा नगर्दै घर बनाउन थालिहाल्छन्,' अधिकारीले भने, 'अहिलेको अनुगमनमा यिनीहरूलाई जरिवाना गराई छाडिरहेका छौं।'
नीतिनियम पहिले नै बने पनि महानगरले यसलाई कार्यान्वयन गराउन सकेको थिएन। यदि कसैले नक्सा पासअगावै आफ्नो घरको जग पुर्ने काम गरे 'स्थानीय स्वायत्त शासन ऐन-२०५५' अनुसार महानगरले भत्काउन आदेश दिनसक्ने उल्लेख छ।
काठमाडौंका ठूला मल तथा अपार्टमेन्टको नक्सा पासमा विवाद भएपछि कार्यकारी अधिकारीले नै नक्सा पासको जिम्मा साउन १ देखि लिइरहेका छन्। साथै, महानगरले महानगरको डिजिटल नक्साको तयारी पनि थालिसकेको छ। रासस

0 comments:
Post a Comment