
असारको पहिलो साता बित्नै लाग्दा पनि वर्षा हुन नसकेपछि यहाँका सर्वसाधारणसहित कृषक मारमा परेका छन् ।
यसैक्रममा वर्षा भगवान वा अल्ला रिसाएर नपारेको भन्दै यहाँका मुसलमान बालबालिकाले पानीको माग गर्दै गाउँ परिक्रमा गरेका हुन् ।
वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १६ नयाँ टोलका मुसलमान बालबालिकाले आज बिहान सामूहिक रुपमा भगवान् वा अल्लासँग पानीको माग गर्दै गाउँ परिक्रमा गरेका थिए ।
नयाँ टोलस्थित मस्जिदबाट निस्किएको बालबालिकाको ¥यालीले मुर्ली गाउँ परिक्रमा गरेको थियो । ‘हे अल्ला पानी दे’ भन्दै बालबालिकाको एक समूहले गाउँ परिक्रमा गरेका थिए ।
उनीहरु नाङ्गै पानी माग्दै घुमेका थिए । उनीहरुलाई स्थानीयवासीले पानी खनाएका थिए । बालबालिकाले यसरी मागेपछि पानी खनाइँदा वर्षा हुन्छ भन्ने विश्वास रहेको मुसलमान समुदायका अगुवा रमतुल्लाह खान बताउनुहुन्छ ।
सामूहिकरुपमा अल्ला वा भगवानसँग बालबालिकाले पानी मागेपछि अल्लाले पानी दिन्छन् भन्ने धार्मिक विश्वास सो समुदायमा रहेको पनि उहाँले बताउनुभयो । बालबालिकालाई स्थानीयले पानी खनाएर निथ्रुक्क भिजाएका थिए ।
लामो समयसम्म वर्षा हुन नसकेपछि पर्सासहित यस आसपासका कृषक भने नराम्रोसँग मारमा परेका छन् । वर्षा हुन नसक्दा कृषकले असारे धानका लागि आवश्यक पर्ने बीउ पनि लगाउन पाएका छैनन् भने कृषकले लगाएको हिउँदेबाली मकै पनि सुकेको छ ।
यहाँ असारको अन्तिम साता रोपाइँ गर्ने प्रचलन छ तर त्यसका लागि अहिलेसम्म बीउ भने लगाइसक्नुपर्ने कृषि प्राविधिकले बताएका छन् । रासस
0 comments:
Post a Comment