नेपाल चिकित्सक सङ्घ चितवनले यहाँका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको विरोधमा यहाँका बिरामी र तिनीहरुका आफन्तजन आन्दोलित भएका छन्। देशकै महत्वपूर्ण क्षेत्र अस्पताल बन्द गर्नुले मानवअधिकार हनन र बाँच्न पाउने अधिकारसमेत खोसिएको भन्दै उनीहरुले आज चितवनमा नारावाजी र प्रदर्शनसमेत गरे। चितवनको क्यान्सर अस्पतालबाट उनीहरुले विरोध र्यारली निकाल्दै चितवन प्रशासनलाई अस्पताल खुलाउन दबाब दिए । असपतालमा उपचार गराइरहेकी बेगम खानुतले आफूहरुको उपचारमा अस्पतालका चिकित्सकहरुले लापरवाही गरेकाले आन्दोलन थालेको बताए।
आफूहरुको मागका विषयमा प्रशासन गम्भीर नबने कडा आन्दोलन गर्ने चेतावनीसमेत बिरामीहरुले दिएका छन्।
हिजोदेखि चिकित्सक सङ्घले पटकपटक अस्पतालमा आक्रमण र चिकित्सकमाथि नै कुटपिट हुन थालेको भन्दै चितवन जिल्ल्ााका सम्पूर्ण असपतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गराएको हो।
आजै चिकित्सकहरुले प्रशासनमा ज्ञापनपत्र दिँदै आफूहरुको सुरक्षाका ग्यारेन्टी र चिकित्सक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने माग गर्दै ३६ घण्टे अल्टिमेट्म दिएको भरतपुर असपतालका चिकित्सक डा भोजराज अधिकारीले बताए।
चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले बिरामीका आफन्त र अस्पतालका कर्मचारीको मागको विषयमा आफूहरु गम्भीर रहेको र समस्या समाधानको प्रयास जारी रहेको बताए।- रासस

0 comments:
Post a Comment