
म हतारहतार विद्यालय पुग्छु । कक्षा सुरु भइसकेको हुन्छ । हाजिर गर्नलाग्दा लेखापाल सरले हठात् अन्कित सरको नाममा मैले हाजिर गरेको देखाउँदै मलाई जिस्क्याउनुहुन्छ ।
म झसङ्ग हुन्छु । मैले त आफ्नै नाममा हाजिर गरेकी हुँ । मेरो नाम अन्किता थापा र उहाँको अन्कित थापा एउटै खालको नाम भएकोले झुक्किएर मैले अन्कित सरको नाममा पो हाजिर गरिदिएकी रहेँछु ।
अन्कित सरको र मेरो हाजिरको विषयलाई लिएर बेलाबेलामा अन्य सर र मिस-म्याडमले पनि मलाई जिस्क्याउनुहुन्छ । अनजानमा भएको सानो भूलको कारण म अरूको जिस्क्याउने पात्र भएकी हुँदा मलाई भित्रैदेखि असजिलो महसुस हुन्छ । अन्कित सर हाम्रो विद्यालयको नयाँ सर हुनुहुन्छ ।
उहाँको गम्भीर व्यक्तित्व ज्यादै आकर्ष छ । अन्कित सर र मेरो बोलचाल पनि हाजिरकै विषयबाट सुरु हुन्छ । उहाँ क्याम्पसमा पढाउने र हाम्रो विद्यालयको आँशिक शिक्षक मात्र भएकोले सामान्य बोलचालबाहेक गहिरो घुलमिल भने भएको हुँदैन ।
विद्यालयको वाषिर्कोत्सवको दिन हामी सबै शिक्षक शिक्षिका समयमै आइसकेका हुन्छौँ । अन्कित सर आइपुग्नुभएको हुन्न । विद्यार्थीहरूले पनि अन्कित सरले ढिलो गर्नुभएकोमा गुनासो गर्छन् । नबुझिँदो गरी मेरो मन भारी हुन्छ । मलाई पनि अन्कित सर छिट्टै आउनुभए हुन्थ्यो जस्तो लाग्छ । घरिघरि मूलढोकातिरै आँखा जान्छन् ।
मलाई झन् आर्श्चर्य लाग्छ, किन यस्तो हुन्छ । नभन्दै अन्कित सर टुप्लुक्क आइपुग्नुहुन्छ । मेरो मन फुरुङ्ग हुन्छ । वाषिर्कोत्सवको विभिन्न कार्यक्रममा हामी व्यस्त हुन्छौं ।
अन्कित सर मेरो नजिक आएर मैले संयोजन गरेको कार्यक्रम सर्वोत्कृष्ट भएकोमा प्रशंसा गर्दै मलाई बधाई दिनुहुन्छ । मसँगै बसेर खाजा पनि खानुहुन्छ र सँगै तस्बिर पनि खिचाउनुहुन्छ ।
उहाँको नम्र बोली, मन्द हाँसो, सौहार्द स्वभाव मलाई असाध्यै आकर्ष लाग्छ । म त्यसैत्यसै फुर्फुरिन्छु । कार्यक्रम सकिएपछि म घर पुग्छु । त्यसरात सपनामा पनि म अन्कित सरलाई नै देख्छु ।
मेरो मनमस्तिष्कभरि अन्कित सरको आकृति घुमिरहन्छ । मेरो अन्कित सरप्रतिको आकर्षा देखेर होला एकदिन रीनाम्याडमले अचानक अन्कित सरको बिहे भइसकेको कुरा सुनाउनुहुन्छ । म छाँगाबाट खसेजस्तै हुन्छु ।
सपनाबाट ब्युँझेजस्तो अनुभूति हुन्छ मलाई । सायद मेरो मौन प्रेमभावलाई बुझेर अन्कित सरले उहाँको बिहे भइसकेको फिजाएको हो कि – बिहे भएको पनि सात वर्षभइसकेको रहेछ तर सन्तान भने म्याडमको कारणले नहुने भएको रहेछ ।
मेरो मन एकतमास हुन्छ । चारैतिर अँध्यारो भएजस्तो लाग्छ । जीवनमा पहिलोचोटि देखेको एउटा मीठो सपना वा गरेको एउटा मीठो कल्पना भताभुङ्ग हुन्छ ।
अब छिटोछिटो विद्यालय पुग्ने इच्छा पनि मर्नथाल्छ । जीवनमा एकप्रकारको उदासीपन छाउँछ तर पनि हाँस्ने प्रयास गर्दै म विद्यालय जान्छु ।
आज अनायसै मेरो हातबाट क्यानभासमा एउटा चित्र उत्रिन्छ उही सेतो र्सट, खैरो पाइन्ट, कालो जुत्ता खल्तीमा टलक्क टल्किने कलम, आँखामा चस्मा, हँसिलो मुहार, गम्भीर स्वभावको आकर्ष व्यक्तित्वको तस्बिर । अनि टाढा कुनामा तस्बिर हेरेर तप्पतप्प आँसु खसालिरहेकी एउटी कलकलाउँदी केटीको उदास चित्र !
0 comments:
Post a Comment