-Neel Khadka
सिरक अनि सिरानीको, साथ उस्तै उस्तै !
हिजोआज उनको मेरो, रात उस्तै उस्तै !!
याद आउँछ धेरैधेरै, बिछ्यौना त रित्तो !
चल्न नपाई बसेका, हात उस्तै उस्तै !!
थाहा होला भोग्नेलाई, छुट्टिँदाको पीडा !
पीर व्यथा कतिकति, खात उस्तै उस्तै !!
सपनीमा मात्रै भेट्ने, बानी परेको छ !
निन्द्रामा नै हुँदोरै'छ, बात उस्तै उस्तै !!
नियति नि पक्षपाती, भयौं दुर हामी !
समयले दिएको छ, घात उस्तै उस्तै !!
सोचेजस्तो भएन खोइ, सप्तरंगी संसार !
हानेको छ भाग्यले झन्, लात उस्तै उस्तै !!
अश्रुधारा बग्छन् यादमा, टोलाउँदा पनि !
खाएका छौं आँसुसँगै, भात उस्तै उस्तै !!
जल्न थाले छाती पनि, यादमा विगतको !
खेर जान्छन् उर्लिएका, मात उस्तै उस्तै !!


0 comments:
Post a Comment