बिन्दुलाई परिवारकै सदस्यले मारेको प्रहरी दाबि

By
Advertisement
घरपरिवारले नै विन्दु ठाकुरको हत्या गरेको सोमबार कलैयामा प्रहरीले दावी गरेको छ । विभिन्न प्रमाण प्रस्तुत गर्दै उपस्थित पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय बाराका नायब उपरीक्षक विप्लव अधिकारीले उक्त दावी प्रस्तुत गरेका हुन् ।

“बिहान पढ्न निस्केकी भनिएकी विन्दुका बारेमा परिवारजनको भनाइ बाझिएको, पढ्नका लागि भनेर विन्दु घर बाहिर निस्केको देख्ने कोही नभएको, मट्टीतेलको भाँडो घरभित्रै फेला परेको र घरभित्र घटना भएकै दिनमा लिपपोत गरेको अवस्थामा परिवारजनकै संलग्नता रहेको पुष्टि हुन्छ” उनले भने ।


नायब उपरीक्षक विप्लवले अगाडि भने, “डढेको विन्दुको शव भएको ठाउँमा उनका बुवा रामाले बोक्ने गरेको टर्चलाइट फेला पर्नु, विन्दुले लगाएको कुर्तासुरुवाल डढेको र त्यसको सल घरभित्रै भएको र पछि शवलाई छोप्न प्रयोग गरेको अवस्थामा पाइएको छ ।”

हाम्रो अनुसन्धानले विन्दु हत्यामा परिवारजनकै संलग्नता रहेको तथ्य फेला परेको र बाँकी को–को संलग्न छन्, थप अनुसन्धानले पत्ता लाग्ने विप्लवले बताए ।

आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका विन्दुका बुवा रामा ठाकुरलाई अदालतबाट म्याद थप गरिएको छ । प्रस्टोका निवासी कक्षा १० मा अध्ययनरत छात्रा विन्दु ठाकुरको जलाएर हत्या गरेको शव परीक्षण प्रतिवेदन शङ्कास्पद भएकाले चिकित्सकहरुलाई कारबाहीको माग गर्न नेता तथा स्थानीयले आवाज उठाउन थालेका छन् ।

जिल्ला अस्पताल कलैयाका चिकित्सकहरु प्रकृति ऊर्जा, राजु कुशवाह र अभिषेक सिंहले गरेको शव परीक्षणमा विन्दुलाई जलाएर मारेको उल्लेख छ । प्रतिवेदन अनुसार जलाएकी विन्दुको निसास्सिएर मृत्यु भएको हो ।

पुस ११ गते बिहान घरबाट ७० मिटर टाढा बाँसघारी नजिकै उनको डढेको मृत शरीर फेला परेको थियो । सोही दिन शव परीक्षण गरी परिवारलाई शव बुझाइएको र मध्यरातमा दाहसंस्कार गरिएको थियो ।

शरीरको बाहिरी भाग डढ्दैमा विन्दुको मृत्यु हुने सम्भावना कम रहेकाले उनलाई पहिले हत्या गरी पछि मट्टीतेल छर्केर आगो लगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए ।–रासस

0 comments:

Post a Comment