काठमाडौँ, १५ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको १२८ औँ जन्मजयन्तीको अवसरमा त्रिमूर्ति निकेतनले आज सञ्चारग्राममा कवि शिरोमणिको सम्झनामा एक साहित्यिक कार्यक्रम तथा श्रद्धाञ्जलिसभाको आयोजना गर्यो ।सो कार्यक्रममा शिरोमणिको त्रिमूर्ति निकेतनमा रहेको पूर्णकदको सालिकमा शिरोमणि काव्य प्रतिष्ठानका संयोजक रामबाबु प्रसाईं (खनुपरुदे), इन्दिरा प्रसार्इं, नरेन्द्र प्रसाईं, यादव भट्टराईलगायतका साहित्यकारले माल्यार्पण गर्नुका साथै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
त्यसैगरी ठाकुर शर्मा, बाबा बस्नेत, शान्ती रिसाललगायतका कवि कवयित्रीहरुले लेखनाथको स्मरणमा कवितावाचन गर्नुभएको थियो ।
विसं १९४१ पुस १५ गते कास्कीको अर्गौअर्चले गाउँमा जन्मनुभएका लेखनाथलाई विसं २००८ मा कवि शिरोमणिको उपाधिबाट सम्मान गरिएको थियो ।
उनलाई विसं २०११ सालमा रथयात्रा गरी सम्मान गरिनुका साथै साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप मरणोपरान्त विसं २०२६ सालमा त्यसबेलाको नेपालको सबभन्दा ठूलो त्रिभूवन प्रज्ञा पुरस्कारबाट सम्मानित गरिएको थियो ।
शिरोमणि पौड्यालका पिँजडाको सुगा, तरुण तपसी, बुद्धि विनोद, गङ्गा गौरी, लालित्य, ऋतु विचारलगायतका डेढ दर्जन साहित्यिक कृति रहेका छन् । उनको विसं २०२२ फागुन ७ गते निधन भएको थियो । रासस

0 comments:
Post a Comment