दशैं होइन दशा भयो चेपाङलाइ

By
Advertisement
-वर्षदिनमा एकपटक चामलको भात खान पाइने दसैँ भएकाले पनि उनीहरुमा दसैँको चाहना बढ्नु स्वाभाविक
-मकैबाली खडेरीले खाएदेखि नै उनीहरुका थाप्लामा दशाको सुरुवात
-कसले गर्ला उनीहरुलाई सहयोग ?

रत्ननगर (चितवन), २ कात्तिक । चितवनका विकट गाउँमा बस्ने चेपाङ बालबालिका ‘दसैँ आयो, खाउँला पिउँला’ भन्दै रमाएर औँला भाँचिरहेका भेटिन्छन् । वर्षदिनमा एकपटक चामलको भात खान पाइने दसैँ भएकाले पनि उनीहरुमा दसैँको चाहना बढ्नु स्वाभाविकै हो । तर उनीहरुलाई के थाहा यसपालिको दसैँ दशा बनेर आएको छ भन्ने कुरा ।



एकसरो नयाँ लुगा, एकछाक भए पनि चामलको भातसँग मासु खाने आफ्ना बालबालिका र परिवारको चाहना पूरा गर्न चेपाङ अभिभावकहरुलाई धौधौ परेको छ । यतिखेर उनीहरु ऋण खोज्न साहुका घर चहार्दै छन् ।

यस वर्षको मकैबाली खडेरीले खाएदेखि नै उनीहरुका थाप्लामा दशाको सुरुवात भइसकेको थियो । आधा वर्ष धान्ने मकै बाली सबै खडेरीले सखाप पारेपछि उनीहरुले दैनिक गुजारा चलाउन वर्षात्मै ज्याला मजदुरीका लागि साहुको घरआँगन चहार्नु प¥यो । त्यसैले पनि उनीहरुलाई यसपालिको दसैँ विगतको भन्दा ठूलै दशा सावित भएको छ ।

खडेरीले मकैबाली सखाप पारेपछि मजदुरी गरिरहेका चेपाङहरुका सामुन्ने दसैँ आएपछि अहिलेको दसैँ ऋण बोकाउने दशा बनेर आएको अगुवा चेपाङ दलबहादुर प्रजा बताउँछन् ।

बल्लतल्ल खोरिया र पाखो बारीमा कोदोको बाला लाग्न थाल्दा दसैँले आँगनमै चिहाउन पुग्यो, दसैँ आएपछि घरमा चामलको भात आउला भन्ने आशामा बसेका चेपाङ समुदायका बालबालिकाले टुलुटुलु आमाबाबुको मुख हेर्दै भन्न थाले–खै त आमा चामलको भात अनि दसैँको नयाँ लुगा ।

छोराछोरीको इच्छा पूरा गर्न सिद्धीका इच्छामायाँ चेपाङ साहुकहाँ ऋण काँढ्न दसैँको जोहो गर्न पुगिन् । अब फल्ने कोदो र मास सबै दिन्छु, दसैँका लागि खानेकुरा दिनुस् हजुर भनेर ऋण मागिन् । कति बिन्तिभाउ गर्दा बल्लतल्ल ऋणमै चामल र चिउरा पाएँ, उनले दुःखेसो गर्दै भनिन् ।

मकै खडेरीले नखाएको भए त्यहीसँग चामल साट्ने उनको दसैँको योजना थियो । बारीको मकै खडेरीमा परेपछि साहुलाई के दिने भन्दै उनले सुनाइन्–पैसा हातमा छैन, अरु सम्पत्ति केही छैन ।

चितवन, सिद्धीकी इच्छामाया चेपाङ छोराछोरीको लस्कर लाएर शक्तिखोर बजारका साहुसँग ऋणमा दसैँको खाद्यान्न माग्न पुगिन् । एक किलो चिउरा, एक किलो प्याज, एक लिटर तेल, दस किलो चामल ऋणमा लिएँ, उनले भनिन् ।

यस्तै सन्तबहादुर चेपाङको जग्गा छैन, ज्याला मजदुरी नै उनको दैनिकी स्रोत भएको छ । त्यसैले दसैँ उनका लागि ठूलै दशा सावित भएको छ । साहुले ऋण नपत्याएका कारण पूmलपाती आउनै लाग्दासमेत उनले दसैँको जोहो गर्नसकेका छैनन् । उनी भन्छन्– “हेर्नुस् सर जग्गा छैन, आम्दानी छैन, कसैले ऋण पत्याउँदैनन्, मेरो दसैँ काम गरेरै बित्ने भयो ।”

विकट डाँडाकाँडामा बस्ने चेपाङ समुदायको आपत्का बेला प्रयोग गर्न अन्य जिन्सी सम्पत्तिका नाममा केही बाख्रामात्र हुनेगर्छ । घरमा भए खायो नभए भोकै बस्यो, यस्तो चलन रहेको चेपाङका लागि दसैँ दशा बनेपछि उनीहरु बढी चिन्तित देखिन्छन् । लगाइएका बाली दसैँका लागि बन्धकी राखियो, अनि चामल ल्यायो, अब दसैँपछि के खाने खै–सिद्धी जिउलाङका सुकराम चेपाङले भने ।

खानेकुरा नभएपछि साहुकै कमारो बस्नु र गिठा, भ्याकुर खोज्नुको विकल्प नरहेको उनी सुनाउँछन् । हरेक वर्ष सहज जीवनयापनमा धौधौ पर्ने उनीहरुलाई ऋणको दसैँले झनै दिक्क बनाउँछ । तर के गर्नु छोराछोरीका लागि भए पनि मनाउनै पर्ने रहेछ–सुकरामले भने ।

प्रायः जङ्गलका कन्दमूलमै रमाउने उनीहरुका लागि यसपालिको दसैँले ठूलै ऋण बोकाएको बताउँछन्–चेपाङ अगुवा दलबहादुर प्रजा ।

पुर्खौंदेखि चलिआएको दसैँ अन्य समुदायका लागि खुसी बाँड्ने समय भए पनि चेपाङका लागि ऋण बोक्ने समय बनेको छ । आपूmलाई त नभए पनि हुन्थ्यो, तर के गर्ने बालबालिकाले मान्दैनन् सिद्धीका काजी चेपाङले भने ।

खोरियामा उब्जाएको अन्नले छ महिनामात्र खानपुग्थ्यो, तर यसपालि मकै खडेरीले खाएपछि आठ महिना अनिकालमा बिताउन बाध्य भएका छन् यहाँका चेपाङहरु ।

चितवनको शक्तिखोर बजारमा दसैँको किनमेलका लागि भेटिएका अधिकांश चेपाङले गेडागुडी, मास, गहत देखाउँदै थोरबहुत चामल लिने गरेका पाइएको छ । केहीले त दसैँपछि जिल्ला छाडेर ज्याला मजदुरीबाट कमाएपछि तिरौँला भन्दै चामल लगेको स्थानीय पूर्ण पुरीले बताए ।

चितवनका काउले, दाहाखानी, शक्तिखोर, लोथर, कोराक, सिद्धीलगायतका गाविसमा बढी चेपाङ समुदायको बसोवास रहेको छ । चेपाङ गाउँ विकट पहाडी क्षेत्र भएकाले त्यहाँ यातायात, शिक्षा, स्वास्थ्य र सञ्चारको पहुँच पुग्नसकेको छैन ।

चितवनमा करिब ३० हजार चेपाङ रहेको बताइएको छ ।
नारायण ढुङ्गाना/रासस
तस्बिर: गूगल

0 comments:

Post a Comment